चितवन, जेठ १८
विरेन्द्र बहुमुखी क्याम्पस अगाडिको विरेन्द्र जुस सेन्टरले फलफुल पकाउन हानीकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ । क्यान्सर जस्तो गम्भिर रोग लाग्न सक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ ।उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेको समेत पाइएको छ । भरतपुरकै विभिन्न स्थानमा शाखा रहेको यो जुस सेन्टरलाई महानगरले खाद्य ऐन अनुसार नै कारबाही गर्ने तयारीमा छ ।
मानव स्वास्थ्यमा गम्भिर असर गर्ने विषादीको प्रयोग गरेको पाइएपछि पसल बन्द गराइएको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बताए । उक्त पसललाई खाद्य ऐन अनुसार थप कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए । बजार अनुगमनका क्रममा उक्त जुस सेन्टरमा पुगेको अनुगमन टोलीले पसल बन्द गर्ने निर्णय गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले फलफुल पकाउन प्रतिबन्धित विषादी क्याल्सियन कार्बाइडको प्रयोग गरेको पाइएको बताए । अक्षम्य गल्ती गरेकाले पसल सञ्चालकलाई खाद्य ऐन अनुसार कारबाही हुने उनले बताए ।
Discussion about this post