चितवन । चितवनका सवारीसाधनमा यात्रु गर्ने यात्रुलाई लक्षित गरी अटोरिक्सा र मोटरसाइकलबाट सेवा शुरु गरिएको छ ।मोबाइल एप ‘आयो’ प्रयोग गरेर यात्रुहरूको लागि सुरक्षित रुपमा गन्तव्यमा पुग्नका लागि यो सेवा सुरु गरिएको हो । भरोसा नेटवर्किङ प्रालिले चितवनमा ‘आयो’ एप मार्फत बाइक र अटो सेवा सुरु गरेको हो । बुधबार गैँडाकोटमा कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरेर सेवाबारे जानकारी दिइयो ।
कम्पनीले चितवन र काठमाडौँमा सेवा सुरु गरेको हो । काठमाडौँमा सेवा सुरु गरेको दुई महिनाको अवधिमा नै हजारौँले ‘आयो’ एप मार्फत सेवा लिएको बजार प्रमुख नेत्र किराँतीले जानकारी दिनुभयो । एक महिना अघिदेखि चितवनमा सेवा दिन थालिएपनि काठमाडौँभन्दा चितवनमा यो सेवा प्रभावकारी भएको उहाँको भनाई छ ।
सुरुवातको चरणमा ४७५ वटा बाइक र १२५ वटा अटोले जिल्लामा सेवा दिन थालेको कम्पनीले जनाएको छ । ‘एक महिनाको अवधिमा जिल्लामा २७ सय बढीले सेवा लिइसक्नुभएको छ,किराँतीले भन्नुभयो ’,यात्रुहरूले आजै एप डाउनलोड गरेर सेवा लिन सक्नुहुनेछ ।’ यात्रुले एपमा गएर सवारी छनोट गरेपछि आफ्नो गन्तव्यसम्मको भाडादर समेत थाहा पाउनेछन् । अन्य सेवा प्रदायक संस्थासँग प्रतिस्पर्धा र गुणस्तरीय सेवा दिन राइड शेयरिङ्ग सेवा शुरु गरेको किराँतीले बताउनु भयो ।
उहाँका अनुसार हाल कम्पनीले यात्रुको लागि प्रोमोकोड ‘AYO55’ प्रयोग गरेर पहिलो पाँच राइडसम्म ७० प्रतिशत छुट र पाँच राईड पछि प्रोमो कोड ‘CHITWAN25U’ प्रयोग गर्दा प्रत्येक राईडमा २५ प्रतिशत छुट पाउनेछन् ।
यसको साथै कम्पनीले यात्रु, चालक र सवारी साधनका लागि कम्पनीले बिमा समेत गरेको छ । यात्रुले सवारीसाधन बुक गरेको १० मिनेट भित्र सेवा प्राप्त गर्ने किराँतीले बताउनु भयो । ‘आयो’ को सेवा २४ सै घण्टा सञ्चालन हुनेछ । भाडादर बाइकको प्रतिकिलोमिटर १८ रुपैंया र अटोको प्रतिकिलोमिटर ५४ रुपैंया तोकिएको छ । हाल नारायणगढको क्षेत्रपुरबाट शाखा कार्यालय सञ्चालन गरिरहेको कम्पनीले पूर्वी चितवनको मनहरी, पश्चिम चितवनको जगतपुर र भरतपुरको जुगेडी सम्म सेवा दिएको छ ।
कम्पनीले एक बर्ष भित्र यो सेवा देशैभर विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । यसअघि चितवनमा अन्य कम्पनी टुटल पठाओ र सवारी एप्स मार्फत सेवा सञ्चालन भइसकेको छ ।


































Discussion about this post