काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र नामक पार्टी सजिलै पुनर्निर्माण नहुने टिप्पणी गरेका छन् ।
केन्द्रीय समिति बैठकलाई भचूअल मार्फत सम्बोधन गर्दै प्रचण्डले नेताहरु जनताको बीचमा गएर पार्टी निर्माणमा दिनरात खटिनुपर्ने बताएका हुन् ।पार्टी पुर्ननिर्माणसँगै ध्रुवीकरणमा गएमा बलियो शक्ति हुन सकिने प्रचण्डले उल्लेख गरेको एक पदाधिकारीले बताए ।
‘हामीले पार्टी पुनर्निर्माण गर्न पदाधिकारी, स्थायी समिति बैठकमा गम्भीर छलफल र बहस गरेका छौं । पार्टी पुनर्निर्माणको दुई महिने अभियान चलाउने निर्णय भयो । सबै प्रदेश, जिल्ला र पालिकामा बैठकहरु बस्ने छन्’ प्रचण्डको भनाई उदृढ गर्दै ती पदाधिकारीले भने, ‘अब पार्टी पुनर्निर्माण गर्न काठमाडौंमा बस्ने सिंहदरबार बालुवाटार घुम्ने मात्रै होइन । जनता र कार्यकर्ताको बीचमा जानुस् । जनता, कार्यकर्ता र शुभचिन्तकका सुझावहरू लिएर संश्लेषण गर्नुस् । पार्टीलाई तलैबाट उठाए पुनर्निर्माण गर्न गाह्रो छैन ।’
सबै नेताहरुले पार्टी पुनर्निर्माण गर्ने संकल्प लिएमा असम्भव भन्ने केही नभएको प्रचण्डले जिकिर गरे । पार्टी नेता कार्यकर्ताको जीवनशैली र अचार व्यवहार सुविधा भोगी भएको विषयप्रति प्रचण्डले आपत्ति जनाए । माओवादी नेताहरु जनता र कार्यकर्ता बिर्सेर सुविधा भोगी हुँदा जनता र पार्टीबीचको सम्बन्ध टाढिँदै गएकोमा प्रचण्डले दुःख व्यक्त गरे ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएपछि धेरै कम्युनिस्ट शक्तिसँग वार्ता र छलफल भई सकारात्मक स्थिति बन्दै गएको प्रचण्डले उल्लेख गरे । पूर्व माओवादी घटक विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायत पार्टीसँग एकता गर्दै जाने विषयमा राम्रो हुँदै गएको बताए ।
अर्कोतिर एकीकृत समाजवादी र जसपासँग एकता गरेर समाजवादी केन्द्र बनाउने विषय समेत अघि बढेको प्रचण्डले खुलासा गरे । ‘हामीले महरा जी नेतृत्वको वार्ता टोली बनायौं । हामीले आ–आफ्नो ठाउँबाट भूमिका खेलियौं । हामीले भूमिका खेल्दा राम्रो हुने रहेछ भन्ने आभास भएको छ’ प्रचण्डको भनाई उदृढ गर्दै पदाधिकारीले भने, ‘अहिले विभाजित माओवादी एक ठाउँमा आउने स्थिति बन्दै गएको छ । अर्कोतिर समाजवादी केन्द्र निर्माण गर्नेतिर जाँदै छ । भविष्यमा निकै ठूलो कम्युनिस्ट ध्रुवीकरण हुँदै जाने देखिएको छ ।’ माओवादी केन्द्रमा हुँदा सबैतिर सुनुवाइ हुँदा सकारात्मक वातावरण बन्ने गरेको प्रचण्डले अनुभूति सुनाए ।
Discussion about this post