Nirvik Khabar

विश्वफुटबलका महान खेलाडी पेलेको निधन

विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीवार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ।अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए ।
पेले विश्वकप फुटबलको उपाधि तीनपटक जितेका छन् । पेलेले सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधी ब्राजिललाई जिताएका थिए ।

पेलेकी छोरी केलि नासिमेन्तोले सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको निधन भएको जनाएकी हुन् ।पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

फुटबल भन्नासाथ सबैले सम्झिने नाम हो पेले । २३ अक्टोबर १९४० मा ब्राजिलको एउटा गाउँमा जन्मिएका एडसन अरान्ते दो नासिमेन्तो पैसाको अभावमा कागजका डल्ला र मोजाको बल खेल्दै हुर्किए । बाल्यकालमा डिको उपनामले परिचित उनै नासिमेन्तोलाई पछि संसारले पेले नामबाट चिन्यो । सबैका स्वीकार्य र प्रेरणा बनेका पेले फुटबललाई सुन्दर बनाउँदै महाप्रस्थान गरेका छन् ।

अमेरिकी आविष्कारक थोमस एडिसनबाट प्रेरित भएर उनको नाम एडसन अरान्तेदो नासिमेन्तो राखिए पनि परिवारका सदस्यले उनलाई मायाले डिको भनेर बोलाउँथे । जसको अर्थ सन अफ वारियर हो । पेले नाम कसरी रहन गयो त ? यसको पनि रोचक किस्सा छ । एडसनको उच्चारणमा समस्या थियो । उनको मनपर्ने एक ब्राजिलियन क्लबको गोलकिपरको नाम बिले थियो । तर उनी, पिले भनेर उच्चारण गर्दथे । साथीहरुले डिकोलाई पेले भनेर गिज्याउन थाले । आफ्नो नाम बिगारिदिएको भन्दै एडसनले साथीहरुसाग निकै झगडा गरे । पोर्चुगिच भाषामा पेले शब्दको अर्थ भेटिँदैन । तर हिब्रो भाषामा पेले भनेको मिराकल अर्थात् जादु हो । सााच्चिकै पेले नामले विश्वभर माया, एकता, सद्‌भाव र आफ्नोपनको जादु छर्यो ।

https://youtu.be/RyBn3dNnQ7w

 

पेलेका पिता पनि स्थानीय स्तरमा नाम चलेका व्यावसायिक खेलाडी थिए । सानैमा फुटबलसँग जोडिएका उनलाई विश्वकप विजेता खेलाडी भ्लादिमिर डी बिर्ताले व्यावसायिक करियरमा जोडे । १५ वर्षको उमेरमै सान्तोस क्लबमा जोडिएका पेलेले पहिलो सिजनमै ३२ गोलका साथ लिगको उच्च गोलकर्ता बनेपछि पेलेलाई राष्ट्रिय टिममा बोलाइएको हो । १७ वर्षको हुँदा सन् १९५८ को विश्वकप खेल्ने टिममा छानिएका पेलेको यात्रा फुटबलको उच्चतम् विन्दुमा पुग्यो ।

विश्वकप खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पेले पहिलो सहभागितामै ग्लोबल स्टार बने । फाइनलमा घरेलु टोली स्विडेनलाई पाँच-दुईले पराजित गर्दै ब्राजिलले पहिलोपटक विश्वकप जित्दा पेलेले दुई गोल गरेका थिए । पेले यत्तिमै रोकिएनन्, १९६२ र १९७० को विश्वकप पनि जिते । अहिलेसम्म तीन विश्वकप जित्ने पेले एकमात्र खेलाडी हुन् । १९७० को विश्वकप फाइनलमा ब्राजिलले इटालीमाथि चार-एक गोलको जित निकाल्दा पेलेले नै पहिलो गोल गरेका थिए । सो गोल विश्वकपमा ब्राजिलको एक सयौं गोल थियो ।

६० र ७० को दशकमा पेले राष्ट्रिय टिम र सान्तोसबाट विश्वका विभिन्न ठाउँमा पुगे । जहाँ पुग्थे त्यहाँ समर्थकहरुको ओइरो लाग्थ्यो । १९६७ मा पेले नाइजेरिया भ्रमणमा जाँदा त्यहाँ गृहयुद्ध चलिरहेको थियो । तर पेलेको खेल हेर्न दुवै पक्षले ४८ घण्टा युद्धविराम गरेका थिए । १९६१ मा ब्राजिलले, पेलेलाई स्वदेशमै रोक्न राष्ट्रिय सम्पति घोषणा गरेको थियो ।

२२ वर्षको करियरमा एक हजार दुई सय ८३ गोल गरेका पेलेले ९२ ह्याट्रिक गरेका छन् । राष्ट्रिय टिमबाट पेलेको नाममा ७७ गोल छ । १९७७ अक्टोबर १ मा करियरको अन्तिम फुटबल खेलेका पेलेले पहिलो हाफ सान्तेास र दोस्रो हाफ कसमसबाट खेलेका थिए । १९६९, नोभेम्बर १९ मा करियरको एक हजार गोल पूरा गर्दा मैदानमा समर्थकको भिड लाग्यो । जसका कारण ३० मिनेट खेल रोक्नुपरेको थियो ।

पेलेसँग छोटो संवादका लागि पनि विश्वका शक्तिशाली व्यक्ति घण्टौं प्रतीक्षा गर्दथे । १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट एथ्लिट अफ दी सेन्चुरी घोषित भएका पेले मैदानबाहिर पनि उत्तिकै चर्चित छन् । युनिसेफ र संयुक्त राष्ट्रसंघको दूत बनेर लाखौं बालबालिकाका लागि काम गरेका पेलेले भ्रष्टाचार निवारण र वातावरण संरक्षणमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याए । १९९५ देखि १९९८ सम्म खेलकुदमन्त्री बनेका पेले वर्तमान पुस्ताको पनि प्रेरणाको स्रोत हुन् । उनी जे थिए विशेष थिए, अद्भूत थिए । उनको भौतिक शरीरले महाप्रस्थान गरे पनि उनले छोडेर गएको सुगन्धले विश्वलाई सुन्दर बनाइराख्नेछ ।

-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस