Nirvik Khabar

मौन अवधिको सम्मान गर

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा मंसिर ४ गते मतदान हुने भएकाले आज मंसिर १ गते बिहीवार मध्यरात देखि मौन हुने सूचना निर्वाचन आयोगले जारी गरेको छ । मौन अवधिमा चुनाव प्रचारका कुनै पनि गतिविधि गर्न पाइँदैन ।मतदाताले अरूको दबाब र प्रभावमा नपरी स्वतन्त्ररूपमा मतदान गर्न पाउने सुनिश्चित गर्न मतदानभन्दा केही समय पहिले चुनाव प्रचार नगर्ने वा गर्न नपाइने चलन विश्वभर नै छ । निर्वाचनको मर्यादा बढाउने विश्वासमा मौन अवधिको चलन सुरु भएको हुनुपर्छ ।

नेपालमा भने अधिकांश राजनीतिकर्मी जसरी पनि चुनाव जित्ने मानसिकताले जे पनि गर्न तयार देखिन्छन् । निर्वाचन प्रचारका क्रममा भएका झडपहरू तथा प्रतिस्पर्धीविरुद्ध व्यक्त तुच्छ वचन यसैको उदाहरण हो ।
लोकतान्त्रिक शासन प्रणाली नेपाली जनताले नै रोजेका हुन् । लोकतन्त्र सुदृढ बनाउन स्वच्छ र निष्पक्ष निर्वाचन पनि जनताकै चाहना हो । अतः उमेदवार र तिनका समर्थकले निर्वाचन आचार संहिता तथा लोकतान्त्रिक मूल्यहरूको सम्मान नगर्दा जनइच्छाको अवज्ञा हुन्छ ।

चुनाव नजित्दै कानुन र नैतिकताको ‘लक्ष्मण रेखा’ नाघ्न नहिचकिचाउने उमेदवारलाई विधिको शासन र लोकतन्त्र रुचाउने मतदाताले पक्कै पनि मत दिनेछैनन् । अर्थात्, मौन अवधिमा प्रचारप्रसार गर्ने उमेदवारको चुनाव जित्ने सम्भावना घट्छ । अर्थात्, अनुचित चलखेल प्रत्युत्पादक बन्न सक्छ ।

सामाजिक सञ्जालको व्यापकता र सूचना प्रविधिको विकासले अहिले कसैको कुनै राम्रो वा नराम्रो कामको प्रचार प्रसार हुन धेरै बेर लाग्दैन । मौन अवधिमा निषेधित क्रियाकलाप गर्ने सोचमा भएकाहरूले अहिले त्यस्तो अपराध लुकाउन निकै कठिन हुने यथार्थको पनि हेक्का राख्नु जरूरी छ ।

विगतमा मौन अवधिमा प्रचार प्रसार गर्नेहरूबीच झडपका घटना भएका थिए । यसपटक पनि त्यस्ता घटना हुनसक्छन् । यसैगरी बम विस्फोटका घटना पनि सार्वजनिक भएका छन् । यद्यपि, यसपटक बम बोक्ने र बनाउने नै विस्फोटबाट घाइते भएको समाचार छ । मौन अवधिको उल्लङ्घन गर्ने दाउ कसैले हेरेको छ भने त्यसले यस्ता सबै सम्भावनाको जोखिम पनि बुझेकै हुनुपर्छ । यसैले निषेध गरिएका काममा कोही पनि संलग्न नहुँदा नै निर्वाचनको इज्जत बढ्छ । मौन अवधिको सम्मान गरौँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस