Nirvik Khabar

प्रचण्ड-नेपालको चुनावी समीक्षा: मतदाताको मन परिवर्तन हुँदा गढकिल्ला भत्किए, सरकारलाई सय दिन पर्खिने

Advertisements
Single Page Long - 2

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनको समीक्षा गर्दै मतदाताले मन परिवर्तन गरेका कारण सोचेअनुसार परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ। नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले चुनावको प्रारम्भिक समीक्षा गेको हो। फागुन २६ मा नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा साढे दुई घण्टा बसेको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावबारे ‘ब्रिफिङ’ गरेका थिए। चुनावी हारजितका विषयमा प्रचण्डको प्रारम्भिक ‘ब्रिफिङ’पछि नेताहरूले सैद्धान्तिक र राजनीतिक विषय पार्टी कमिटीमा छलफल गर्ने तय गरेको बैठकमा सहभागी एक नेताले बताए। नेकपाको निर्वाचन परिचालन कमिटीमा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू वामदेव गौतम, झलनाथ खनाल, फम्पा भुसाल, देव गुरुङ, अग्नि सापकोटा, जगन्नाथ खतिवडा, रञ्जिता श्रेष्ठ, राजेन्द्र श्रेष्ठलगायत थिए।

बैठकमा बोल्दै सहसंयोजक माधव नेपालले मतदाता मन परिवर्तन गरेकाले सोचेअनुसार परिणाम नआएको बताएका थिए। ‘मान्छेको मन परिवर्तन भयो, यस्तो परिणाम आयो,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने। नेकपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा लहर आएको निष्कर्ष निकालेको छ। ‘लहर त लरहै भयो। हामीले उठाउँदै आएको मुद्दामा दायाँबायाँ त भएको छैन, ठीकै छ,’ बैठकको निष्कर्ष सुनाउँदै ति नेताले भने। पुराना दलप्रति घृणा फैलाएका कारण पनि रास्वपाका पक्षमा मतदाता गएको नेकपाको निचोड छ। निर्वाचन समीक्षामा सहभागी नेताले नेकपाको समीक्षा सुनाउँदै भने, ‘उनीहरू (रास्वपा) ले पुराना दलप्रति फैलाएको घृणा र निराशाको प्रतिफल पनि हो। त्यसैले यसलाई धेरै अश्वभाविक पनि नठानौँ।’अर्कातिर, प्रतिनिधि सभाको चुनावमा कमिकमजोरी भए पनि नेकपाले औँल्याएको छ। रास्वपाले फैलाएको गलत सूचनालाई चिर्ने रणनीति बन्न नसकेको पनि नेकपा नेताहरूले स्वीकारेका छन्। ‘सहि सूचनाको स्रोच, त्यसको पहिचान, विश्लेषण र त्यसअनुसारको कार्यनीति बनाउन सकेनौँ, त्यहाँ पनि हाम्रो असफलता हो,’ बैठकमा सहभागी अर्का नेताले भने।

यसपटकको चुनावमा पुराना मान्यता भत्किएको पनि नेकपाको ठहर छ। ‘यो पालीको चुनावमा पुराना मान्यता भत्किए। गढ, किल्ला रहेन अब। हाम्रो यति सय, यति हजार भोट भन्ने जुन थियो, त्यो रहेन अब,’ बैठकमा सहभागी अर्का नेताले भने, ‘मतअधिकारकर्ता परिवार पनि छिन्नभिन्न भयो, फरकफरक ठाउँमा भोट हाले।’अहिले लोकतन्त्र ‘ट्र्याक’मै रहेको नेकपाको ठहर छ। भोलि लोकतन्त्र ‘ट्र्याक’ बाहिर जाने स्थिति आएमा संघर्ष गर्नुपर्ने नेकपाको निर्क्योल छ। यससँगै नेकपाले धेरै दलसँग एकता गरिएको भए पनि त्यसअनुसार, समायोजन गर्न र एकजुट भएर लाग्न समय अपुग भएको पनि निष्कर्ष निकालेको छ। अब कमिटीहरू गठन गर्दै महाधिवेशनमा केन्द्रित हुने पनि तय गरेको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले)मा नेतृत्व परिवर्तनको आवाज उठेको भए पनि नेकपाले भने महाधिवेशनबाटै टुंगो लगाउने निष्कर्ष निकालेको छ। ‘अब पार्टी कमिटीहरू फर्मेसन गर्ने, त्यसपछि सिंगो संगठनलाई महाधिवेशनमा लगेर पुनर्गठन गर्ने। नेतृत्व परिवर्तनदेखि लिएर के के कुरा हुनसक्छन्, त्यतिवेला गर्ने तय गरेका छौँ,’ ती नेताले भने। यससँगै नेकपा बैठकले वाम एकतामा पनि जोड दिने तय गरेको छ। चुनावपछि एमालेमा देखिएको अन्योलले गर्दा नेकपाले नै वाम एकताको नेतृत्व गर्नुपर्ने अवस्था आउनसक्ने ठम्याइँ छ। ‘वाम एकतातिर जाने, वाम दलको अभिभावकत्व हामीले गर्ने हो कि? कम्युनिस्ट पार्टीहरू अलगथलग हुनु भएन भन्ने निष्कर्ष निकालेका छौँ,’ बैठकमा सहभागी नेताले भने।

नेकपाले आउँदै गरेको स्थानीय तहको निर्वाचनलाई पनि ध्यानमा राख्दै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। प्रतिनिधि सभाका निर्वाचनमा देखिएका कमिकमजोरी सच्याउँदै स्थानीय निर्वाचनका लागि अहिलेदेखि नै तयारी गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन्। यससँगै नेकपाले केन्द्रीय निर्वाचन परिचालन समितिलाई पनि भंग गरेको छ। प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले ८ सिटमा जित हासिल गरेको छ। त्यस्तै, समानुपातिकतर्फ ८ लाख ११ हजार ५७७ मत पाएको छ। प्रतिनिधि सभामा नेकपा चौथो दल बनेको छ। यसअघि तेस्रो दल रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस