Skip to main content

Nirvik Khabar

थारु कलाकार मञ्चको केन्द्रीय महाधिवेशन माघ २७ र २८ गते सौराहामा हुने, प्रधानमन्त्री दाहालले उद्घाटनगर्ने

Advertisements
Single Page Long - 2

चितवन , २५ माघ 

राष्ट्रिय थारु कलाकार मञ्चको पहिलो महाधिवेशन चितवनको आदिवासी थारु बहुल पर्यटकीय क्षेत्र सौराहामा हुने भएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ २७ र २८ गते महाधिवेशन गर्न लागेको जनाएको छ ।

संगठनलाई गति दिनका साथै महाधिवेशनले थारु संस्कार संस्कृति, पहिचान र परिकारलाई पनि प्रवर्द्धन गर्ने मञ्चका अध्यक्ष विरबहादुर चौधरीले बताए । ‘पाँच वर्षअघि गठन भएको यो हाम्रो संगठन थारु कलाकारहरुको क्षमता बढाउन, पेशाको संरक्षण गर्न क्रियाशिल छ ।साथै थारु भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन गर्न र थार समुदायमा रहेको प्राचीन सम्पदा जोगाउन पनि सक्रिय छौं, अध्यक्ष चौधरीले भने ।

अधिवेशनको उद्घाटनमा थारु पौराणिक लोक नाच, लोक गीत, बाजासहित थारु पहिरन र गहनासमेत लगाएका ५० वटा झाँकी प्रस्तुत गरिने उनले बताए । दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा कर्‍या चोल्या, उज्जर गोन्यामा सजिएर थारु मन्द्रा, मञ्जौराको तालमा नाचिने सख्या नाच, चितवनको लठ्ठी नाच, उदयपुर, सप्तरी, सिराहा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्सा, सुनसरी, मोरङ, झापामा प्रचलित धुमरा चोरखेली नाच अधिवेशनमा प्रस्तुत हुनेछन् ।

थारुका आधुनिक र व्यवसायिक सिर्जनाका साथै प्राचीन गीत, संगित र नृत्य नाटकहरुलाई पनि प्रचार गर्ने अध्यक्ष चौधरीले बताए । थारु समुदायमा प्राचिन लोकभाका र लोकगीतहरु हुर्डुङ्ग्वा, झुम्रा, संख्या, सज्ना, मैना, मांगर, धमरा, धुम्रु, मघौटा, छोक्रा, महोत्या, विरहैन, चाँचैर, बाह्रमासा, तीनमासा, दिन नचवा, अध्यरत्याहरु छन् । त्यसै गरी थरी थरीका लोकनृत्यहरु छन् । लोकबाजाहरु मन्द्रा, मन्जौरा, झालर, झाली, कस्तार, चत्कौली, बस्या, घुघ्ना, घुंघुरु, डफ, डफ्ली, मृदंग, हर्मोनियम, बोसलीको पनि संरक्षण आवश्यक भएको अध्यक्ष चौधरीले बताए ।

अधिवेशनमा यस्ता मौलिक सिर्जना र साधनहरुका बारेमा परिचर्चाहरु हुने उनले बताए । त्यसै गरी थारु समुदायका विशेष खाना ढिक्री, घोङ्गी, खिचरी, तिलको लड्डु, अन्डीको भात, चिच्चर, भक्का, केराको तरुवा, खँरिया, बरिया, अन्डीको रोटी, झझरा रोटी, सिद्रा माछा, बङ्गुरको मासु, हाँसको मासु, बयरको चट्नी, अचार अधिवेशनमा उपलब्ध गराउने अध्यक्ष चौधरीले बताए ।

थारु नेपालको आदिवासी समुदाय हुन् । नेपालको पुर्वीदेखि पश्चिमसम्मको तराई क्षेत्रमा थारु समुदायको बसोबास छ । राष्ट्रिय थारु कलाकार मञ्चको नेपालका २६ जिल्लामा संगठन भएको महासचिव रोशन रतगैंयाले जानकारी दिए । प्रत्येक जिल्लाबाट पाँचजना प्रतिनिधि र एकजना पर्यवेक्षक आउने छन् । अधिवेशनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने महासचिव रतगैंयाले बताए ।

महाधिवेशनमा भाग लिन देशभरवाट थारु कलाकारहरु सौराहा पुग्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस