भरतपुर, १७ मंसिर ।
भरतपुर केन्द्रीय अस्पतालको सेवा बिस्तार मात्र नभई भएका सेवालाई व्यवस्थित गर्न अस्पतालका पूर्व अध्यक्ष र पूर्व मेसुले सुझाव दिएका छन । अस्पतालमा बिरामीले घण्टौँ लाइन बसेर उपचार गराउन बाध्य रहनुपरेको समस्या रहेको बताउँदै उनीहरूले सामान्य स्तरबाटै व्यवस्थापनका लागि नवनियुक्त मेसुलाई सुझाव दिएका हुन् ।
पूर्व अध्यक्ष राजकुमार राजभण्डारी र पूर्व मेसु डाक्टर रुद्रप्रसाद मरासिनीले मेसु डाक्टर श्रीराम तिवारीलाई भेटेर अस्पतालको विकाससँगै बिरामीको समस्यामा गम्भीर हुन आग्रह गरेका हुन् । पूर्व अध्यक्ष राजभण्डारीले विकाससँगै व्यवस्थापनको पाटोमा ख्याल गर्नुपर्ने बताए । “अस्पतालको हरेक सेवा गरिब नागरिकलाई सम्झेर व्यवस्थापन गर्न जरुरी छ,” उनले भने, “पहिल्यैदेखि जनताको गुनासो नभएको होइन । जिम्मेवार पक्षले त्यस्ता कुरामा कम चासो दिएको हो कि झैँ लाग्यो । नयाँ मेसुलाई सबै जानकारी सहित सुझावको रूपमा आग्रह गरेको छु ।”
पूर्व मेसु डाक्टर रुद्रप्रसाद मरासिनीले सेवामा भरतपुर अस्पताल अब्बल रहेको बताउँदै त्यसको व्यवस्थापन महत्त्वपूर्ण रहेको बताए । “सेवा बिस्तारमा भरतपुर अस्पताल धेरै राम्रो छ । अस्पतालबाट बिरामीको सेवामा धेरै वर्ष बिताएँ । मैले तीन बर्ष मेसुको रूपमा काम गरेँ । त्यो बेलादेखि अहिलेसम्म धेरै फरक छ । तर भएका सेवालाई गुनासो नआउने गरी काम गर्नुपर्ने देखेको छु,” उनले भने, “केबल यही भएका सानोसानो कुरामा ख्याल गरेर काम गरे बिरामीले सहज सेवा पाउने थिए । हाम्रो सुझाव नै यही हो ।”
अस्पतालका मेसु डाक्टर श्रीराम तिवारीले अस्पतालमा बिरामीले लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गरे । “मैले अस्पतालको सेवालाई प्रभावकारी बनाउने गरी जिम्मेवारी लिएर आएको हुँ, “डाक्टर तिवारीले भने, “सेवा लिन आएका बिरामीले सहज र सरल तरिकाबाट सेवा पाउने री हामी काम गर्दै छौं ।”
उनीहरूले अस्पतालमा भएका पछिल्लो गतिविधिबारे जानकारी लिएका थिए । अस्पतालको हितका लागि जस्तोसुकै परिस्थितिमा विचलित नहुन आग्र गरेका थिए । त्यसक्रममा नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रीय महासचिव सुबोध प्रधानले गरिबले महसुस गर्ने गरी सेवा प्रवाह गर्न आग्रह गरे । अस्पताल विकास समितिका सदस्य डिल्लीराम लामिछाने ‘मिलन’ले विकास समिति अस्पतालको सेवालाई चुस्तदुरुस्त बनाउन लागि परेको बताए ।
Discussion about this post