चितवन, मंसिर १७–
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको अझै पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ ।
प्रहरीले मृतकहरुको अनुहार प्रष्ट्याउने किसिमको बिशेषज्ञद्वारा तयार पारिएको स्केच आज फेसबुकमार्फत् सार्वजनिक गरेको हो ।स्केचसहित मृतकहरुको हुलिया, शरीरमा भेटिएका चिजबस्तु, चिन्ह तथा कपडाहरुको बिवरण सहितको फोटोबाट सनाखत हुन सक्ने भएकोले सार्वजनिक गरिएको चितवन प्रहरीले जनाएको छ । प्रहरीले कोही कसैको परिवारका सदस्य, आफन्तजन तथा साथीसंगी हराइरहेको भएमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।
भरतपुर महानगरपालिका–१२ मंसिर ६ गते केरुङ्गा खोलामाथि बनेको कल्भर्टमा जुटको बोराभित्र महिला र पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले ७७ वटै जिल्ला र मातहतका निकाय तथा भारतमा समेत शवको प्रकृति र हुलियाका बारेमा जानकारी गराइसकेको छ । तर कतैबाट घटनाको सुइँको पाउन सकेको छैन । कुनै कुरा पत्ता लगाउन नसक्दा थप अनुसन्धान नै सुरु गर्न नसकिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
प्रहरीले यसअघि मृतकको हुलिया र लगाएका पहिरनबारे सूचना फेसबुकमार्फत सार्वजनिक गरेको थियो । त्यसबाट पनि केही सूचना प्राप्त नभएपछि आज स्केच सार्वजनिक गरेको जनाइएको छ ।
घटनास्थल वरपर सीसीटीभीको समेत पहुँच नभएका कारणले अनुसन्धानमा समस्या भएको प्रहरी अधिकृतहरु बताउँछन् । यो घटनाका सम्बन्धमा डेढ सय जना भन्दा बढीसँग विभिन्न ठाउँमा सोधपुछ गरिएको तर कतैबाट पनि क्लू भेटाउन नसकिएको प्रहरी अधिकृतहरुको भनाइ छ ।
एक जना व्यक्तिले मात्रै अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर शव फाल्न नसक्ने प्रहरीको भनाइ छ । त्यसैले यसमा समूह नै सहभागी भएको अनुमान छ । यो ठाउँको अवस्थाका बारेमा बुझेको, जानेको, पहिला रेकी गरेर गएको ब्यक्तिहरुले नै यहाँ ल्याएर शव राखेका हुन सक्छन्, उसले सबैभन्दा सुरक्षित ठाउँ यसलाई ठानेर नै ल्याएको देखिने प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् ।
नजिकै रहेको सुकुमबासी बस्तीका कसैले पनि शव ल्याएर फालेको बारेमा सूचना दिन नसकेको प्रहरी अधिकारीको भनाइ छ । वीरगञ्ज तथा कपिलवस्तुतिरबाट चितवन आएका ठूला सवारी साधनहरुको निगरानीसमेत गरिरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।
पोष्टमार्टम गर्ने चिकित्सकहरुका अनुसार शव भेटिएको ४८ घण्टा अगाडि उनीहरुको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । पुरुषको मुखमा कानदेखि नै निलो टेप बाँधिएको छ, जिउमा भित्री बस्त्रमात्र छ भने महिलाको शवमा ढाकाको चोलो र प्याजी रंगको टाउजर छ । महिलाको हातमा एस लेखिएको छ ।
Discussion about this post