काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन १ गते जनयुद्ध दिवसको नाममा दिएको सार्वजनिक बिदाको निर्णयबाट पछि नहट्ने संकेत गरेका छन् ।बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण गर्दै उनले आफ्नो नेतृत्वमा भएको सशस्त्र युद्धलाई पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राज्य विस्तारपछिको ठूलो काम भनेका छन् ।पृथ्वी जयन्तीमा पुस २७ गते कुनै प्रधानमन्त्रीले आँट नगरेका बेला आफूले नै सार्वजनिक बिदा दिएको भन्दै प्रचण्डले त्यसको भने बिरोध नभएको बताए ।
‘मैले यो पटक प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने निर्णय गराएँ । … धेरै भए प्रधानमन्त्री शान्ति सम्झौतापछि । कुरा त गर्थे तर कसैले आँट गरेका थिएनन् । मैले आँट गरेँ । यो आँट गरेकामा सबैले ठीकै माने, कसैले विरोध गरेनन् । तर मैले अर्को पनि गरेँ जनयुद्ध दिवस भनेर त्यसको चाहिँ अहिले निकै ठूलो टीका टिप्पणी हुने गरेको छ’, उनले भने ।
नेकपा एमालेले फागुन १ गते नेपालमा हिंसा सुरु भएको भन्दै त्यस दिन बिदा दिनु उचित नहुने भन्दै विरोध गर्दै आएको छ । सत्ता साझेदार नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि जनयुद्ध दिवसको नाममा बिदा दिनु बेठीक भन्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डले भने जनयुद्धलाई दबाउन सम्भव नहुने बताए । ‘हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भनेपनि फेरि उठ्छ त्यो’, उनले भने, ‘कार्ल माक्र्सले भन्नुभएको थियो, महान उद्देश्यको निम्ति सर्मपित भएर त्याग गर्ने शहीदहरु कहिल्यै मर्दैनन् । अहिले एकछिन दबाइएर चिहानमा पुरिएपनि चिहानबाट फेरि ती जाग्छन् ।’
प्रचण्डले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै अहिले जनयुद्धलाई विद्रुपीकरण गरेर निरंकुशतालाई अगाडि ल्याउने जमर्को भइरहेको आरोप लगाए । ‘पृथ्वीनारायण शाहले राज्य एकीकरणको बेलामा गरेपछिको अर्को ठूलो जनताको तहबाट, जनताको स्तरबाट गरिएको महान विद्रोह र पहलकदमी थियो यो’ उनले भने ।
प्रचण्डले अगाडि भने, ‘तर यसको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी छ । आधिकारिक रुपले यो के चिज हो ? यसभित्र कस्तो विचार, भावना र संस्कारले काम गरेको थियो ? भन्ने कुराको जस्ताको तस्तै स्थापित गर्ने देशभित्र, देशबाहिर त्यो अझै बाँकी छ । यसभित्र अन्तर्निहित उदात्त विचार, भावना र त्यागको महानता, उच्चतालाई होइन यसको विद्रुपिकरण गर्ने । र निरंकुशतालाई अगाडि ल्याउने जमर्कोहरु अझैपनि देखा पर्छन् ।’
Discussion about this post