चितवनको कालिका नगरपालिका १० सिद्धिमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय पचास जनाभन्दा बढी लाभान्वित भएका छन् । विहिबार चितवन सहायता समाज युके, चितवन सहायता समाज बेल्जियम, चितवन समाज साउथ अस्ट्रेलिया र लायन्स क्लव अफ इन्टरनेश्नल डिस्ट्रिक थ्रि टु आर अन्र्तगतका लायन्स क्लव अफ नारायणगढ,लायन्स क्लव अफ नारायणगढ संगमचोक,लायन्स क्लव अफ नारायणगढ नारायणी, लायन्स क्लव अफ नारायणगढ संगमचोक सञ्जिवनी,लायन्स क्लव अफ चितवन सौराहाको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा १६८ जनाभन्दा बढी लाभान्वित भएका हुन् ।
शिविरमा नेशनल सिटी अस्पताल र निको बाल अस्पतालका चिकित्सकहरुले चेकजाँच गरेका थिए ।।स्वास्थ्य शिविरमा बालबालिका देखि बृद्धसम्मको सम्पूर्ण स्वास्थ्य परीक्षणका साथै निशुल्क औषधीको पनि व्यवस्था मिलाइएको थियो । स्वास्थ्य सेवाका लागि स्थानीय घण्टौं हिँडेर शिविर स्थल आइपुगेका थिए ।
चेपाङ्ग समुदायको बाहुल्यता रहेको कालिका १० नं. वडा स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेको कारणले उक्त ठाउँका बासिन्दालाई लक्षित गरी शिविर आयोजना गरिएको चितवन सहायता समाज बेल्जियमकी अध्यक्ष सिता सापकोटाले जानकारी दिनुभयो । मेडिकल सिटीको रुपमा रहेको चितवनको पहाडी क्षेत्रमा रहेका समुदायमा स्वास्थ्य सेवा नपुग्नुमा सरोकार वालहरु जिम्मेवार रहेको बताउनुभयो । उहाँले भन्नुभयो “सामान्य परिवारमा खाने लगाउने समस्या ब्याप्त छ, त्यसमा स्वास्थ्यमा समस्या देखिए के गर्ने अस्पताल सम्म पनि पुग्ने पैसाको अभाव छ । कसरी गर्छन यस्ता नागरिकले उपचार ?” ।
Discussion about this post