बागलुङ – बाग्लुङ बाट ग्रामीण भेगमा छुट्ने सवारीहरूले क्षमता भन्दा धेरै यात्रु बोक्ने गरेकाे भेटिएको छ । सदरमुकाम बाट दक्षिणी भेग जैमिनि नगरपालिकाका विभिन्न ठाउँमा पुग्ने साना सवारी जीपमा धेरै यात्रु राखेर यात्रा गराउने गरेको भेटिएको छ ।
पिकअप जिपलाई ५ जना यात्रु बोक्ने अनुमति दिएको हुन्छ । उस्तै प्रकारको रातो नम्बर प्लेटको जिपलाई यात्रु बोक्ने अनुमति छैन । बाग्लुङमा भने रातो प्लेटको निजी जिपदेखि ५ जना यात्रु बोक्ने अनुमति पाएको जिपले भित्र कोचाकोच यात्रु राखेर मात्रै नभएर खस्नै लाग्ने गरी बाहिर ढालामासमेत यात्रु बोकेका छन्
गाउँतिर प्रहरीको आँखा छलेरमात्रै नभएर बजार क्षेत्र, प्रहरी, प्रशासन, ट्राफिक प्रहरी कार्यालयकै अगाडि क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन् ।
प्रहरी चेकिङ आउनेबित्तिकै यात्रुलाई झारेर हिँड्न लगाउने र अलि पर पुगेपछि पुनः जिपमै चढाउने गरेका छन् । त्यतिमात्र नभएर जिपमा झुन्डिएर यात्रा गर्ने गरिएका छन् । कतिपयले प्रहरीको आँखा छलेर वा भाग्ने गरेका छन् । प्रहरी चेकिङमा रोक्दासमेत भाग्ने गरेका छन् । कतिपयले भने सर्वसाधारणले सुझाव दिँदासमेत अटेरी गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङका प्रमुख सुमन न्युरेका अनुसार जैमिनिका लागि छुट्ने सवारीसाधनले मालढुंगामा रहेको चेकपोस्टमा चेक गर्दा सामान्य भेटिए पनि प्रहरीलाई छलेर यात्रा गराउने गरेको बताए । उनले भने सामान बोक्ने पिकअप जिपमा ४ जनाको अनुमती भएपनि गाउँ पुग्दा सम्म १५/१६ जना राख्ने गरेको भेटिएको बताए । ट्राफिक प्रहरीले यसरी यात्रा गराउने सवारी चालक र सवारधनीलाई छड्के चेक गरेर कार्वाही गर्ने गरेको बताए । उनले भने ” चाडपर्वमा सबैलाई घर पुग्नु पर्ने बाध्यता छ, सवारी कम छन , कुनै गाडी छुट्यो भने बजारमै बस्नु पर्ने बाध्यता छ , त्यसले गर्दा पनि यात्रुहरू जोखिम मोलेरै यात्रा गर्ने गरेका छन् ।” ग्रामीण भेगमा कच्ची सडकमा क्षमता भन्दा धेरै यात्रु राखेर यात्रा गराउदा दुर्घटनाको जोखिम बढेको छ ।

यात्रुबाट मनपरि भाडा असुली
यहाबाट छुट्ने सवारीले मनपरि रूपमा भाडा उठाउने गरेका छन् । जिल्लाको सदरमुकाम बाट जैमिनि २ सम्म सुन्तलाचौर सम्म करिब २० किलोमिटरको भाडा ६०० रूपैयाँ लिने गरेको यात्रुले बताएका छन् । नाम नबताउने सर्तमा एक यात्रुले भने “भाडादर पनि महंगो छ यात्रा पनि असहज छ । धेरै मान्छे राखेर हिड्नुपर्दा दुर्घटनामा परिने पो हो कि भन्ने लाग्छ , सिमित जीपहरू छन् ठेलमठेल यात्रु राख्छन , नचढ्ने हो भने अरू सवारी पाइदैन बाध्यताले हिड्नुपर्छ” ।
जिल्लाको जैमिनि नगरपालिकाले विभिन्न ठाउँको भाडादर कायम गरेपनि जीप तथा पिकअप भ्यान व्यबसायीले अटेर गरेर कार्यान्वयन नगरेको भेटिएको छ ।
यस्तै जैमिनि ३ ले भने आफ्नो वडाको लागि नयाँ भाडादर कायम गरेको छ । त्यहाँबाट बिभिन्न ठाउँमा पुग्ने पिकअप तथा जीप व्यबसायीहरूको छलफलले भाडादर कायम गरेको छ । जैमिनि ३ को गाँजा दहबाट बाग्लुङ बजार सम्मको ५५० निर्धारण गरेको छ । भने सामानको ढुवानीमा प्रतिकेजी ५ रूपैया लिने भएको छ ।


































Discussion about this post