Nirvik Khabar

समस्याग्रस्त बाघलाई राख्ने खोरको अभाव, खोरका बाघलाई खर्च पुर्‍याउनै मुश्किल

सुनिता सुवेदी

चितवन- गएको असार ९ गते खैरहनीको कुमरोज सामुदायिक वन क्षेत्रमा गाईलाई बाघले आक्रमण गर्यो । चितवन राष्ट्रिय निकुञ्जले उक्त बाघलाई नियन्त्रणमा लिएर ‘स्याटलाइट कलर’ गरेर पुनः जंगलमा नै छाडेको थियो । समस्याग्रस्त बाघ नरहेकाले जंगलमै छाडिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

‘बाघ खोरमा राख्ने प्रकृतिको जनावर हैन । समस्याग्रस्त, विरामी घाइते, मान्छे खान पल्केको हो भने छाड्ने कुरा भएन । सामान्य घाइते भएर समस्या भएर निस्केको अवस्थामा उपचार गरेर तन्दुरुस्त बनाएर जंगलमा छाड्नुपर्ने हुन्छ,’ उनले भने, ‘कुमरोजबाट नियन्त्रणमा ल्याएको बाघको अवस्था हेरेर स्याटालाइट कलर गरेर छाडेका हौँ, जंगलभित्रै छ, अहिले बाहिर निस्केर क्षति गरेको छैन ।’

त्यस घटनापछि असार २० गते भरतपुरको मेघौलीबाट भैँसीलाई आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएको बाघलाई राख्ने खोर (इन्क्लोजर) नभएपछि उक्त बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाइएको तिवारीले बताए । निकुञ्जको सौराहा सेक्टरको खोरमा २ वटा र कसरा मुख्यालयको खोरमा ३ वटा बाघ छन् । समस्याग्रस्त बाघलाई प्राविधिकहरुले डार्ट गरेर नियन्त्रणमा लिने गर्छन् ।

‘असारमा मात्रै कुमरोज सामुदायिक वन र भरतपुर–२७ बाट २ वटा बाघ नियन्त्रणमा लिइयो । असार २० गते मेघौलीबाट नियन्त्रणमा लिएको बाघलाई राख्न खोरको अभाव हुँदा पर्सा राष्ट्रिय निकुञ्जमा पठाएका छौँ,’ निकुञ्जका सूचना अधिकारी तिवारीले भने, ‘ थप खोर आवश्यक छ । आगामी आर्थिक वर्षमा जसरी पनि बनाउने तयारीमा छौँ ।’

तिवारीका अनुसार यस आर्थिक वर्ष २०७९÷८० मा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भैंसी चराउन जंगल गएका माडीका सूर्यप्रसाद अधिकारीलाई आक्रमण गर्ने बाघलाई निकुञ्जले गएको असोजमा एक महिना लगाएर नियन्त्रणमा लिएको हो । त्यसयता मान्छेलाई बाघले आक्रमण गरी मारेको घटना निकुञ्जको रेकर्डमा छैन ।

प्रायजसो घटना बुढो र असक्त बाघबाट हुने गरेको तिवारीले बताए । गत आर्थिक वर्ष २०७८÷७९ मा बाघको आक्रमणबाट १४ जनाको मृत्यु भएको उनले बताए । विगतका वर्षहरुको तुलनामा यस वर्ष बाघको आक्रमणका घटना कम भएको उनी बताउँछन् ।

‘सामान्य अवस्थामा बाघ बाहिर कमै निस्कन्छ । क्षेत्र कायम गर्न नसकेर, अशक्त भएर, घाइते भएर बाहिर निस्केको हुन सक्छ । बाघबाट यस्ता घटना नघटोस् भन्नका लागि तुरुन्तै फिल्डमा पुग्ने गरेका छौँ,’ उनले भने, ‘समस्या पहिचान भएपछि सम्भाव्य दुर्घटनाबाट हामीले न्यूनिकरण गर्न सक्छौँ । जसको कारण गतवर्षको तुलनामा बाघको आक्रमणका घटना कम भएका छन् ।’

बाघसँग अचानक जम्काभेट हुँदा, बाघ आफूलाई असुरक्षित महसुस गरेको अवस्थामा बाघले हाक्रमण गर्ने भएकाले जंगल जाँदा सचेत हुनुपर्ने उनले बताए । जंगला जाँदा समूहमा जाने र बाघको पाइला पहिचार्ने गर्नुपर्ने तिवारी बताउँछन् । उनी भन्छन्, ‘वर्षात्को समयमा झाडी बढेको अवस्थामा मानिसहरु निउरो टिप्न जाने र निहुँरिएर आफ्नो काम गर्दा आफ्नो आहारा हो कि भन्ने ठानेर बाघले मानिसालाई आक्रमणमा गर्छन् । वर्षात्को समयमा त अत्यावश्यक काम बाहेक वन क्षेत्रमा जानु नै हुँदैन ।’

सामुदायिक वन, निकुञ्ज र उपभोक्ता समितिबाट समन्वय गरेर वन्यवन्तुको आनिवानी र जोगिने उपायहरुको बारेमा समयसमयमा सचेत बनाउने कार्यक्रमहरु चितवन राष्ट्रिय निकुञ्जले गरिरहेको छ । नेपाली सेना, निकुञ्जको गस्तीको टोलीले पनि सम्झाउने बुझाउने, फर्काउने, कारबाही गर्नुपर्ने अवस्थामा कारबाही नै गर्नुपर्ने समेत नियमित रुपमा गरिरहेको तिवारीले बताए ।

सामुदायिक वनहरुले जंगलमा घाँस दाउरा गर्न निश्चित समय तोकिदिएको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै समुहमा जंगल जान निर्देशन दिइएको छ । समुदायले अटेरी गरेर मनपरि जंगल जाने, एक्लै जाने, बिहानमा जाने गर्दा जनावरले आक्रमण गर्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

राष्ट्रिय प्रकति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाकी प्रमुख रचना शाहले बाघलाई निकुञ्जभित्रै पर्याप्त बस्ने ठाउँ र आहारा पुगेको बताउँछिन् । यद्यपि बाघ बुढो हुँदै जाँदा र अशक्त हुँदा सजिलो आहारा खोज्दै समुदायमा आउने गरेको उनको भनाई छ ।

‘मानिसपनि बुढो भयो भने अर्काले जुटाइदिएको सजिलोसँग खान पाए हुन्थ्यो भन्ने गर्छन्, बाघलाई बुढो भएपछि सजिलै सिकार गर्न पाए भन्ने हुन्छ,’ उनले भनिन्, ‘सजिलो आहारा खोज्दै समुदायमा आउँछन्, जसकारण जनमानसमा पनि डर भइरहेको छ ।’

बाघको औसत आयु १५ वर्ष हो । समुदायमा प्रवेश गर्ने बाघहरु पनि १० देखि १३ वर्ष उमेर समुहका नै रहेको शाहले जानकारी दिइन् । शाहका अनुसार पछिल्लो समय कुमरोज र मेघौलीमा बढि नै मानव–बाघ द्धन्द्धका घटना निम्तिएका छन् । ‘घाइते वा बुढो बाघहरु प्रायजसो मानिसको बसोबास भएको स्थानमा जाने गर्छन्, सवेरै जंगल जाँदा घटना घट्न सक्छ भन्ने बुझेपछि मानिसहरु आफै सचेत हुन जरुरी छ’, उनले भनिन् ।

जनसमुदायले जीवजन्तुको वानीव्यवहार बुझेर एकअर्काको सहअस्तित्व स्वीकार गरेर अगाडी बढ्नुपर्ने उनी बताउँछिन् । मानिसहरु सचेत भएमा मात्रै यस्ता घटना कम गर्न सकिने तर समस्याग्रस्त बाघलाई खोरमा राख्नुको विकल्प नरहेको उनी बताउँछिन् । समस्याग्रस्त बाघलाई राख्न राष्ट्रिय निकुञ्ज विभागले बाघको उद्धार केन्द्र र होल्डिङ सेन्टर बनाउने तयारी पनि गरिरहेको छ । ‘बाघलाई सधैभरि खोरमा राख्दा उनीहरुको स्वतन्त्रतामा पनि ख्याल गर्नुपर्छ, सबैभन्दा उत्तम विकल्प जनमानस सचेत हुनु नै हो, उनले भनिन् ।

खोरमा राखेका बाघलाई खर्च पुर्याउन गाह्रो

निकुञ्ज र जैविक विविधता संरक्षण केन्द्रको खोरमा गरी ५ वटा बाघ नियन्त्रणमा छन् । बाघहरुलाई आवश्यक पर्ने आहाराको व्यवस्थापन गर्न निकुञ्जलाई हम्मे हम्मे परेको छ । एउटा बाघलाई हरेक दुई दिनमा १५ केजी मासु दिने गरिएको छ ।

निकुञ्ज कार्यालय, एनटिएनसी, घडियाल गोही संरक्षण केन्द्र, हात्ती प्रजनन केन्द्रमा संरक्षण शुल्क उठाएको रकम खर्च गरेर व्यवस्थापन गरिरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । सौराहामा भएको २ वटा बाघ निकुञ्जको सहयोगमा एनटिएनसीबाट व्यवस्थापन गरिँदै आएको छ । कसरामा रहेका ३ वटा बाघको व्यवस्थापन निकुञ्जले नै गरेको छ ।

सहयोगी मनहरुले बाघको आहाराको लागि सहयोग गर्न सक्ने जैविक विविधता संरक्षण केन्द्र सौराहाकी प्रमुख शाहले बताइन् । सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघको संख्या १२८ रहेको छ । पर्सा राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या ४१ छ । त्यस्तै देशभर रहेका बाघको संख्या ३५५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस