काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले नेपाल पत्रकार महासंघले अगाडि सारेको सदस्यता शुद्धीकरण अभियानमा भइरहेको दुरुपयोग रोक्न माग गरेको छ ।
‘हाम्रो सङ्गठन शुद्धीकरण पक्षधर हुँदाहुँदै पनि पूर्वाग्रही भूमिका र मापदण्डको सिकार भई सदस्यता सूचीबाट नाम हटाइएकोप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ’, समाजवादी प्रेस सङ्गठनले ‘शुद्धीकरण’ को विषयलाई दुरुपयोग गर्दै पूर्वाग्रही गतिविधि तत्काल रोक्न महासङ्घ नेतृत्वसमक्ष माग गरेको छ ।
‘साथै, शुद्धीकरणसम्बन्धी मापदण्डको एकरूपता कायम गरी देशभरि एउटै मापदण्डसहित यस अभियानलाई अगाडि बढाउन हामी जोडदार माग गर्दछौँ । साथै, यस विषयका सम्पूर्ण पीडित साथीहरूलाई समयभित्रै महासङ्घको प्रदेश र केन्द्रमा उजुरी गर्न पनि आग्रह गरिन्छ’अध्यक्ष विश्वमणि सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन् । उनले शुद्धीकरण अभियानमा सङ्गठनको पूर्णतः साथ, समर्थन र सहयोग रहेको स्पष्ट पार्दै शुद्धीकरणको विषय र उद्देश्य सकारात्मक हुँदाहुँदै पनि विभिन्न जिल्ला शाखाले सदस्यता नवीकरणका सिलसिलामा पूर्वाग्रहवश काम गरेको पाइएको जनाएका छन् ।
‘बिना आधार र तर्क सदस्यको सूचीबाट ‘शुद्धीकरणमा पारिएको’ सन्दर्भमा यस सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष सुवेदीले भनेका छन्, ‘आफूखुसी मापदण्ड तय गर्ने, फरक सङ्गठन वा समूहमा आबद्ध भएकै नाममा ‘शुद्धीकरण गरियो’ भन्नेजस्ता मनोमानी पूर्ण काम भएका छन् ।’
कतिपय पत्रकारहरू राजनीतिक दल वा अन्य संस्थाको सदस्य भए पनि कार्यकारी भूमिकामा नरहँदा ‘शुद्धीकरण’ नगर्ने पूर्व सहमति उल्लङ्घन भइरहेको भन्दै समाजवादी प्रेस सङ्गठनका महासचिव रामकुमार एलन, संस्थापक चमिना भट्टराईसहित थुप्रै साथीहरू पूर्वाग्रही मापदण्डको सिकार भएको सो सङ्गठनले जनाएको छ ।
Discussion about this post