बजारमा अस्वस्थ्यकर पेय पदार्थको बिगबिगी छ । फलफूलको जुसदेखि लिएर कोल्ड ड्रिंग्स अनि इनर्जी ड्रिंक्स कुनै पनि स्वास्थ्यका लागि फाइदाजनक छैनन् । जनस्वास्थ्यविद्हरु यसलाई केबल पानीमा अत्यधिक चिनी घोलेर विभिन्न रसायन र स्वादको फ्लेभर राखेर बनाइएकाले शरीरलाई हानिकारक झोलको रुपमा चित्रण गर्छन् ।
जनस्वास्थ्यकर्मीहरुले नै सम्बन्धित निकायलाई झक्झक्याउँदासमेत कुनै सुनुवाइ नभएको गुनासो गर्छन् । यस्ता पेय पदार्थले पुर्याउने असरबारे सम्बन्धित निकाय गम्भीर नभइदिँदा बिरामी त झन् थला पर्छन् नै बालबालिकादेखि युवायुवतीसम्म र वृद्धवृद्धालाई थप अस्वस्थ्य बनाइरहेको छ ।
‘स्लो पइजन’ का रुपमा लिइने यस्ता पेय पदार्थहरु अतिथि सत्कारका लागि जुनसुकै कार्यमा राख्ने गरिएको हुन्छ । त्यतिमात्र होइन आकर्षक र झुठा विज्ञापनका कारणले बालबालिकाहरु सहजै आकर्षित हुने गरेका छन् ।
तर यसको सेवनले स्वास्थ्यमा पुर्याउने क्षतिबारे भने अभिभावक कमैमात्र जानकार छन् । या त आधुनिकीकरणको चक्करमा त्यसको असर भुलिरहेका छन् । यसलाई नशाको रुपमासमेत लिन थालिएको छ ।
शुरुआतमा विस्तारै पिउने र त्यसपछि बानी पर्दै गएपछि जस्तोसुकै अवस्थामा पनि त्यसको सेवन नगरी नहुने नशाको अवस्थामा पेयको रसायनले पुर्याइदिन्छ । सामाजिक रोगकै रुपमा हाम्रो संस्कारभित्र पुगेको यसकै कारण बालबालिकाहरु कलिलो उमेरमै मधुमेह रोगको शिकार भइरहेका छन् । त्यस्तै मोटोपनसँगै हृदयरोग र दाँतका रोगीहरु बढेका छन् । मिर्गौला, कलेजो र आँखाका रोगीमा पनि वृद्दि भइरहेको छ ।
यसलाई सरकारले नदेखेजस्तो गर्न मिल्दै मिल्दैन । सरकारको पहिलो प्राथमिकतामा नागरिकको स्वास्थ्य हुनुपर्छ । त्यसैले अस्वस्थ्यकर कुनै पनि पेय पदार्थहरु बिक्री वितरण गरिनु हुन्न । बिक्री गर्ने नै हो भने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार र विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड उल्लंघन गर्नु हुँदैन ।
यस्तो पेय पदार्थको खोलमा स्वास्थ्यका लागि हानिकारक छ लेखेर तस्बिरसहित राखिनुपर्छ । त्यतिमात्र हैन यो अस्वस्थ्यकर पेय पदार्थको करको दर उच्च बनाउनु पर्छ ।भिटामिन, प्रोटिन, फाइबर या कुनै पनि आवश्यक तत्व नभएको त्यो पेयमा उच्च दरको कर लगाएर सरकारले फलफूल, गेडागेडी, दूध लगायतमा सहुलियत दिनुपर्छ ।अब सरकारसँग एउटै विकल्प छ कि त यस्ता पेयको बिक्रीमा प्रतिबन्ध लगाओस् हैन भने उच्च कर लगाओस् ।
Discussion about this post