Nirvik Khabar

भरतपुर विमानस्थल विस्तार: नयाँ ठाउँमा पूर्वाधार बनेपछि मात्रै सेनाले व्यारेक हटाउने

काठमाडौं, चैत २०

भरतपुर विमानस्थलमा धावनमार्ग विस्तारका लागि नेपाली सेनाको गण सर्ने भएको छ। विमानस्थलनजिकै रहेको गण सार्न नेपाली सेना सहमत भएको हो। योसँगै अब ठूला जहाज समेत उडान अवतरण हुनसक्ने गरी विमानस्थल विस्तार हुनेछ। यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार गर्ने बताए पनि नेपाली सेनाको ‘ब्यारेक’को कारण अगाडि बढ्नसकेको थिएन।

त्यसले गर्दा आन्तरिक र बाह्य पर्यटकको गन्तव्य चितनवमा ठूला जहाज उडान तथा अवतरण गर्नसक्ने अवस्था थिएन। चितवन राष्ट्रिय निकुञ्ज र सौराहामा मानिसहरु घुम्न तथा बस्न जाने गरेका छन्। उडानमा समेत वायुसेवा कम्पनीबीच प्रतिस्पर्धा नहुँदा भाडा महँगो छ।बुद्ध एयरको भरतपुरमा सामान्य भाडा नै पोखरा बराबर अर्थात् ३५ सय रुपैयाँ छ। कम्पनीले काठमाडौंबाट भरतपुर र पोखराको एउटै भाडादर लिँदै आएको छ। गुण एयरलाइन्सले कर्मचारीलाई समेत तलब दिन नसकेपछि उडान नै रोकिएको छ। विमानस्थलमा एटीआर ४२, जेटस्ट्रिम ४१, बिचक्राफ्ट १९०, ट्विनअटर जहाज उडान अवतरण गर्न सक्छन्। हाल बुद्ध एयरको एटीआर ४२ ले मात्रै उडान अवतरण गरिरहेको विमानस्थलले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले एटीआर ७२ सम्मका जहाज अवतरण गर्न सक्ने गरी विमानस्थल बनाउन लागिएको बताए। ‘अहिले साना जहाज मात्रै उडान अवतरण गर्छन्। धावनमार्ग विस्तारसँगै ठूला जहाज उड्न सक्छन्’, निरौलाले भने।

१९ बिघा जमिन आवश्यक, मन्त्रिपरिषद्मा प्रस्ताव

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारको लागि १९ बिघा जमिन आवश्यक पर्छ। हाल १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ। यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटरको बनाउनुपर्नेछ।

उत्तर पश्चिममा धावनमार्ग विस्तार हुने भएपछि भरतपुर महानगरले समेत चासो दिएको छ। धावनमार्ग विस्तारमा सरकारी जग्गा नै भएकाले थप रकम लाग्नेछैन। तर नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न सरकारले खर्च व्यहोर्ने सहमति भएको प्राधिकरणले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले २ वटा युनिट स्थानान्तरण गर्न तयार रहेको बताए। ‘विमानस्थल विस्तारको क्रममा सेना बस्ने गण र घोडा बस्ने युनिटलाई आवश्यक पूर्वाधार तयार भएपछि अहिलेको स्थान नेपाली सेनाले उपलब्ध गराउँछ’, प्रवक्ता भण्डारीले भने, ‘विकास निर्माणको काममा नेपाली सेनाको कुनै अवरोध छैन।’

उनले नेपाली सेना स्थानान्तरणको लागि आवश्यक भौतिक पूर्वाधार तयार भएपछि विमानस्थलका लागि आवश्यक पर्ने इलाका छोड्न सकिने जानकारी दिए। सेनाले प्रयोग गरेको सबै जग्गा विमानस्थलको लागि आवश्यक नभएको समेत उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस