काठमाडौं । नेपालमा गर्भावस्था र सुत्केरी हुँदाको समयमा हुने आमाको मृत्युमा सुधार देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक पूर्ण विवरणमा नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु भएको देखाएको छ । यसअघि सन् २००६ मा नेपालमा मातृ मृत्यु प्रति एक लाख जीवित जन्ममा २८१ जना थियो ।
सन् २०२२ सम्ममा मातृ मृत्यु अनुपातलाई घटाएर प्रति एक लाख जीवित जन्ममा ११६ मा झार्ने सरकारको लक्ष्य थियो । त्यस्तै सन् २०२५ सम्ममा ९९ र सन् २०३० सम्ममा ७० मा झार्ने सरकारको लक्ष्य छ ।
जनगणनाको विवरण अनुसार लुम्बिनी र कर्णाली प्रदेशमा मातृ मृत्यु उच्च रहेको पाइएको छ । लुम्बिनीमा प्रति एक लाख जीवित जन्ममा २०७ र कर्णालीमा १७२ जना आमाको मृत्यु भएको छ । सबैभन्दा न्यून मातृ मृत्यु बागमतीमा रहेको पाइएको छ । जहाँ प्रति एक लाख जीवित जन्ममा ९८ जना आमाको मृत्यु भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
त्यस्तै प्रति एक लाख जीवित जन्ममा गण्डकीमा १६६, कोशी प्रदेशमा १५७, मधेशमा १४० र सुदूरपश्चिममा १३० जना आमाको मृत्यु भएको तथ्यांक छ ।प्रजनन् उमेर समूह (१५–४९ वर्ष) मा मृत्यु भएका कुल १२ हजार ९७६ महिलामध्ये ६५३ जना अर्थात ५ प्रतिशत महिलाको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको तथ्यांक छ ।
गर्भावस्थासँग सम्बन्धित ६५३ मृत्युमध्ये ६२२ जना अर्थात ९५ प्रतिशत मातृ मृत्यु रहेको छ । ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रस्रव अवस्थामा र ६१ प्रतिशतको मृत्यु सुत्केरी अवस्थामा भएको पाइएको छ ।
मातृ मृत्युको झण्डै आधा (४७ प्रतिशत) महिलाहरुको मृत्यु लुम्बिनी र मधेश प्रदेशमा भएको पाइएको छ । मातृ मृत्यु भएका महिलाहरु मध्ये १० प्रतिशत महिलाहरुको मृत्यु किशोरावस्था (१५–१९ वर्ष) मा भएको छ । अधिकांश (५७ प्रतिशत) महिलाको मृत्यु स्वास्थ्य संस्थामा र २६ प्रतिशत महिलाको मृत्यु घरमा भएको पाइएको छ ।
मातृ मृत्यु भएका ६११ महिलामध्ये ३७ जनाले गर्भपत गराएको वा तिनको गर्भ खेर गएको पाइएको छ ।दिगो विकास लक्ष्यले कुनै पनि देशमा मातृ मृत्यु अनुपात विश्वव्यापी औसतको दोब्बरभन्दा बढी नहुने गरी प्रतिलाख जीवित जन्ममा ७० भन्दा कममा घटाउने लक्ष्य राखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरुको संयुक्त प्रयासमा मातृ मृत्यु अनुपातको अनुमान तथा गर्भवती, प्रसुति र सुत्केरी अवधिमा हुने मातृ मृत्युका कारणहरु पहिचान गर्नका लागि राष्ट्रिय जनगणनासँगै नेपालमा पहिलो पटक मातृ मृत्यु सम्बन्धी अध्ययन गरेको हो ।गणकहरुले प्रत्येक घरमा गई विगत १२ महिनामा घरपरिवारमा भएका जीवित जन्म र प्रजनन उमेर समूहका महिलाको मृत्युको तथ्यांक संकलन गरेको थियो ।
Discussion about this post