बागलुङ : बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेको एक अक्करे भीरको सिरानमा पहरा छ। त्यसलाई शंखे पहरा भन्छन्। शंख आकारको त्यस ढुंगालाई पितापुर्खाले शंखे पहराको नामकरण गरेका हुन्।
बिनामारे रिठ्ठेडाँडा नजिकैको ठूलो पहरोको पिँधतिर शंख आकारमा बनेको चट्टानी आकृतिमा जोड्ले फुक्दा शंखको जस्तै ध्वनिउत्पन्न हुन्छ। उक्त आकृतिमा शंखको जस्तै फुक्ने प्वाल र ध्वनि निस्कने प्वाल छ। शंख बजाउन जान्नेले त्यही चट्टानी आकृतिबाट फुकेर परिस्थितिअनुसारको शंखध्वनि निकाल्न सक्ने स्थानीय हर्कबहादुर थापामगरले बताए। उनले पहरामा रहेका प्वालमा फुक्दा शंखको झैं ध्वनि निस्कने गरेको बताए।
पाकापुरानाले उक्त पहरामा शंख बज्ने बताएकोले त्यसको खोजीनीति गर्ने क्रममा प्रयास गर्दा ओढारमा शंख बजेको रिठ्ठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर थापाले बताए। ‘सानैदेखि शंखेओढार भनेर सुन्ने गरिन्थ्यो, पाकापुरानाले त्यहाँ शंख बज्छ भन्थे’, उनले भने, ‘त्यसै शंखे ओढार नामकरण त भएन होला भन्ने लागेर त्यसको खोजीनीतिमा लाग्यौं, हामीले प्रयास गर्दा शंख बज्यो पनि।’ शंखे पहरा जोड्ने बाटो खन्ने क्रममा स्थानीयवासी रमेश पुनले पहिलोपटक पहरामा फुकेर शंखको ध्वनि निकालेका थिए। त्यसपछि गाउँका अरू केही युवाले पनि शंख बजाउन सिके। अहिले गाउँका धेरै युवाहरूले पहरामा फुकेर शंखको ध्वनि निकाल्छन्।
पहिले–पहिले पूरा आकृति बजारमा पाइने शंखकै जस्तो थियो। पछिल्लो समय त्यसको संरक्षण नहुँदा फुटाउने, प्राकृतिक आकृति बिगार्ने काम भएको स्थानीय थापाले बताए। ‘पहिले ठ्याक्कै घरमा राख्ने शंख जस्तै थियो’ उनले भने, ‘त्यसको महŒव थाहा नहुँदा फुटाउने काम भएको छ।’ शंखे पहराको संरक्षण र विकास गर्न सके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने थापाको विश्वास छ।
जो–कोहीले भने त्यहाँ शंख फुक्न सक्दैनन्। ‘गाह्रो हुन्छ, धेरै फुक्दा त टाउकै दुख्छ’, थापाले भने, ‘वर्षायाममा पहरा पानीले भिज्ने भएकाले ठूलो आवाज आउँछ, राम्रो पनि सुनिन्छ।’ शंख बजाउन घरेलु शंखमा जस्तै पानीको प्रयोग गरेर फुक्दा त्यसले तीखो ध्वनि उत्पादन गर्ने र बजाउन पनि सहज हुने स्थानीयको अनुभव छ। त्यहाँ नजिकै खानीको अवशेष रहेको छ। शंखे पहराको नजिकै करिब १सय५० जना अट्न सक्ने ठूलो ओढार पनि छ। शंखे पहराको संरक्षण र प्रचारप्रसारका केही प्रयास पनि भएका छन्।
पोखरामा प्याराग्लाइडिङ व्यवसायमा आबद्ध स्थानीय युवा टेकबहादुर थापाले पोखरामा आउने स्वदेशी तथा विदेशी धेरै पर्यटकलाई पहराबाट शंखको आवाज आउँछ भन्दा धेरैले चासो राख्ने गरेको र हेर्न आउने चाहना राखेको बताए। उनले पहराबाट शंखको आवाज निस्कनु अनौठो भएकाले त्यसको संरक्षणसँगै विकास गर्नुपर्छ भन्ने लागेर समिति गठन गरेर काम अगाडि बढाइएको बताए।
पहरा आसपासमा पानीले खिइएका चिल्ला चट्टान प्रशस्त रहेको र शंखे पहराको मुनिपट्टी देवीदेवताका आकृति पनि रहेकाले स्थानीयले धार्मिक आस्थासँग जोडेर पूजाअर्चना गर्ने र दक्षिणा चढाउने गर्दै आएका छन्।
पर्यटकीय रूपमा विकास गर्नका लागि गत आर्थिक वर्षमा रिठ्ठेडाँडाबाट शंखे पहरा जाने गोरेटो बनाइएको छ। ‘गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट प्राप्त ९ लाख रुपैयाँ बजेटबाट रिठ्ठेडाँडामा घेराबार गरिएको छ,’ अध्यक्ष थापाले भने, ‘रिठ्ठेडाँडाबाट शंखे पहरामा जाने बाटो एकदमै डरलाग्दो भीर भएका कारण पदमार्गसँगै तारबार गर्नुपर्ने देखिन्छ।’ पदमार्ग र पोखरी ढलान तथा उद्यान निर्माणको काम अगाडि बढाइएको छ। रिठ्ठेडाँडामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयको झन्डै साढे चार लाख रुपैयाँ बजेटमा चौतारो संरक्षण र उद्यान निर्माणमा खर्च गरिएको अध्यक्ष थापाले बताए।
दशकौंदेखि ओझेलमा परेको रिठ्ठडाँडाको भौतिक र पर्यटन विकासमा राज्यका निकाय, जनप्रतिनिधिदेखि स्थानीयवासी जुटेका हुन्। शंखे पहराको विकासका लागि थप पूर्वाधारका कामहरू गर्नु आवश्यक रहेको स्थानीय पुष्पबहादुर थापाको भनाइ छ। ‘पर्यटकीय विकासको दृष्टिले महŒवपूर्ण क्षेत्र हो’ उनले भने– ‘पहरामा शंख बज्ने विषयको प्रचारप्रसार र पर्यटकीय संरचना तयार गर्नु आवश्यक छ।’ नगरपालिकाको पर्यटकीय क्षेत्रका रूपमा नजर परेकाले त्यसको विकासका लागि ध्यान दिने जैमिनी नगर उपप्रमुख हरिहर शर्माले बताए।
रिठ्ठेडाँडाबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखलाहरू देख्न सकिन्छ। नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर र अन्य सहायक सडक हुँदै रिठ्ठेडाँडा सजिलै पुग्न सकिन्छ। यो समुद्र सतहदेखि १हजार ३ सय मिटरको उचाइमा पर्छ।
Discussion about this post