भरतपुर- नेपालमा पानी आश्रित चराको गणना सुरु भएको छ। नेपालका नदी , तालतलैया र सिमसार सहित ६० क्षेत्रमा चरा गन्न लागिएको हो । शनिवारदेखी नेपालभरका १५ वटा नदी र ४० वटा सिमसार क्षेत्रमा पानी चराको गणना सुरु भएको हो । त्यस अन्र्तगत चितवनमा आजदेखि चरा गणना सुरु भएको हो । चितवनमा वर्ड एजुकेशन सोसाइटीले गणनाको संयोजन गरेको छ । लोथरबाट जिन्दगानीघाट, जिन्दगानीघाटबाट सौराहाघाट र सौराहाघाटदेखी कसरापुलसम्म तीन वटा अलग अलग टोली खटाएर एकैसाथ गणना गर्न लागिएको सोसाइटीका पूर्व अध्यक्ष बासु विडारीले बताए । निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिन्छ । त्यस्तै ढुङ्ग्रे खोला बुढी राप्ती, बिसहजारी ताल, माडीको रिउ खोलामा पनि गणना हुनेछ ।
“अघिल्लो वर्षहरूमा हामीले धेरै दिन लगाएर गरेका यियौं । यसपटक एकै पटक टोली विभाजन गरेर एकैसाथ गणना गर्दैछौं,” विडारीले भने, “एकैदिन गर्नुको कारण चराहरू दोहोरिन नसक्ने हुँदा सही तथ्याङ्क आउनेछ ।”चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ । क्यामेरा, वाइनोकुलर र टेलिस्कोपको प्रयोग गरिन्छ । डुङ्गामा चढेर नदीका आसपास भएका चरा गन्दै जान्छन् । आफुलाई कटेर पछाडी गएका चरा गणना गरिन्छ । चितवनमा चरा गणनाको लागी आठवटा टिम तयार गरिएको छ ।
“गणनाको तात्पर्य चरा मात्रै होइन, त्योसँग जोडिएको वातावरण , खोलानाला , तालतलैया , कस्तो अवस्थामा छन् , किन प्रदूषित हुँदै गए भन्ने कुराको पनि खोजी हुन्छ,” वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रहेका चराविद् टिकारम गिरीले भने, “फोहोर गर्न हुँदैन । त्यसले मानिसलाई पनि असर गरेको कुराको सन्देश दिन्छ ।”
नेपालमा सन् १९८७ देखि चरा गणना थालिएको हो । हरेक वर्ष जनवरी सातदेखी २२ सम्म पानीचरा गणना गरिन्छ । पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन गणना गरिदै आएको हो । गणना गरेर सकेपछि प्रतिवेदन तयार गरिन्छ । गणनाले चरा सरंक्षणका नीति तथा कार्यक्रम बनाउन टेवा पुग्ने चराविद् डा। हेमसागर बरालले बताए ।
नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना गरिन्छ । कोशी, जनकपुर, हेटौंडा, चितवन, नवलपुर, लुम्बिनी, दाङ, बर्दिया, कञ्चनपुर, कैलाली, कास्की, काठमाडौं, भक्तपुरमा गणना हुनेछ । गणनामा चराविद् सहित साढे तीन सय जना स्वयंसेवी रूपमा सहभागी हुने बरालले बताए । “यो कुनै प्रोजेक्ट होइन । आफै स्वयंसेवकको रूपमा खटिन्छन्, ” उनले भने, “नागरिक आफै वैज्ञानिकको रूपमा अगाडि बढेको हुन्छ । यसमा आफै बजेट व्यवस्थापन गरेर चराको लागि काम गर्छन् ।”
जाडो छल्न साइबेरिया, तिब्बतबाट चरा नेपाल आउँछन् । साइबेरीया, अष्ट्रेलिया, लगायतका देशबाट उत्तरी सीमा हुँदै नेपालमा चरा आउने गर्दछन् । गर्मी लागेसँगै ती चरा फर्कने गर्दछन् । जाडोमा आउने चरा हाँस प्रजातिका हन्छन् । हिउँका कारण खान नपाएपछि नेपाल आउँछन् ।
Discussion about this post