Nirvik Khabar

३५ रुपैयाँ बोकेर काठमान्डू छिरेको ‘बागलुङे ठिटो’ सबैभन्दा ठुलो बैंककाे सञ्चालक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । शुक्रबार बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले मर्जरका लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।मर्ज गर्दा दुवै बैंकको सम्पत्ति तथा दायित्व १ः१ को स्वाप रेसियो कायम गरिने छ । मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बैंक लिमिटेड हुने छ । यसअघि दुवै बैंकले मर्जरपछिको नाम ‘ग्लोबल आइएमई बिओके लिमिटेड’ राख्न प्रस्ताव गरेका थिए । तर राष्ट्र बैंकले बिओके नराख्न निर्देशन दिएको हो ।

यससँगै नेपालमै सबैभन्दा ठुलो बैंक सञ्चालन गर्ने चन्द्र ढकालको सपना पनि पूरा हुने भएको छ । जम्मा २१ बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने बैंकले नेपालको बैंकिङ इतिहासमा नयाँ रेकर्ड बनाउने छ ।

यसमा ५ वटा ‘क’ वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका हुनेछन् । ग्लोबलले यसअघि कमर्ज एन्ड ट्रस्ट, जनतालगायत बैंकलाई आफूमा गाभेको छ भने बैंक अफ काठमान्डूले यसअघि लुम्बिनी बैंकलाई आफूमा समाहित गराएको थियो ।

चुक्ता पुँजी र कारोबारको आकारमा अब ग्लोबल आइएमई नेपालको सबैभन्दा ठुलो बैंक बन्ने छ । मर्जरपछि यस बैंकको कुल पुँजी ५२ अर्ब २९ करोड रुपैयाँ हुनेछ ।यी २ बैंकका हाल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ३७ लाखभन्दा बढी ग्राहक छन् । दुवै बैंकले गत जेठ मसान्तसम्म ६ अर्बभन्दा बढी खुद नाफा गरेका छन् ।

को हुन् ढकाल

नेपालका चिरपरिचित उद्यमी हुन्– ढकाल । कार्गो व्यवसायबाट व्यावसायिक यात्रा थालनी गरेका ढकाल आज सबै हिसाबले देशकै सबैभन्दा ठुलो बैंकको मुख्य सञ्चालक बन्ने अन्तिम तयारीमा छन् ।

कमजोर आर्थिक पृष्ठभूमिको परिवारमा जन्मे÷हुर्केका ढकाल अहिले वित्तीय क्षेत्रसँगै जलविद्युत्, सूचना प्रविधि, ट्राभल्स एन्ड टुर्स, अटोमोबाइल्स, केबलकारलगायत दर्जनौँ व्यवसायका मालिक हुन् ।उनले सञ्चालन गरेका व्यवसायमा करिब ४० हजारभन्दा बढी व्यक्तिले १० प्रत्यक्ष÷ अप्रत्यक्ष रूपमा रोजगारीको अवसर पाएका छन् ।

ढकाललाई आमजनताले चिन्ने माध्यम भने आइएमई र चन्द्रागिरि केबलकार नै मुख्य हुन् । उनको व्यावसायिक रूपमा सफल उद्यम आइएमई समूहले सञ्चालन गरेका आइएमई लाइफ इन्स्योरेन्स, आइएमई पे, डिस होम, आइएमई जनरल इन्स्योरेन्स, आइएमई मोटर्स, आइएमई अटोमोबाइल्स सञ्चालनमा छन् ।

यस्तै उनले स्थापना गरेको चन्द्रगिरि हिल्सले पनि उनको परिचयमा थप योगदान ग¥यो । केबलकारसँगै ढकालले चन्द्रागिरिमा फन पार्क, भ्यु टावर र रिसोर्ट सञ्चालन गरेका छन् ।

२०२२ सालमा बागलुङको अमलाचौरमा जन्मिएका ढकाल २०४१ सालमा गोजीमा ३५ रुपैयाँ बोकेर काठमाडौँ छिरेको उनैले सार्वजनिक रूपमै बताइसकेका छन् । गाउँमा एसएलसीसम्मको अध्ययन गरेपछि कमाउँदै उच्च शिक्षा लिने रहरले काठमाडौँ हानिएका ढकालले सुरुमा कोकाकोला वितरण गर्ने कम्पनीमा काम गरे ।

त्यहाँ काम गर्दागर्दै उनले राष्ट्रिय वाणिज्य बैंकमा सहायक लेखापाल (असिस्टेन्ट एकाउन्टेन्ट)को जागिर पाए । त्यो जागिर नै उनको जीवनको टर्निङ प्वाइन्ट बनिदियो । त्यहाँ जागिर खाँदै ‘साइड बिजनेस’ गर्ने सोच बनाएर उनले सामान ओसारपसार गर्ने कार्गो खोलेर पहिलो पटक उद्यमयात्रा सुरु गरे ।

कार्गोपछि उनले खोलेको अर्को व्यवसाय रेमिट्यान्स हो । इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) का नाममा खोलिएको कम्पनी नै विदेशबाट पैसा पठाउने पहिलो औपचारिक रेमिट्यान्स हो ।

यसरी गाउँबाट ३५ रुपैयाँ बोकेर पढ्न काठमाडौँ खाल्डो छिरेको ‘बागलुङे ठिटो’ आज देशकै सबैभन्दा ठुलो बैंकको मुख्य सञ्चालक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस