Nirvik Khabar

सङ्कटमा मादल व्यवसाय

निर्भीक खबर
निर्भीक खबर

चितवन । भरतपुर महानगरपालिका–१ लिलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो । आफ्ना बुबाले मादल बनाउन सिकाएका उहाँलाई अहिले मादलमात्र होइन छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउन आउँछ । उहाँको दैनिकी नै छालाबाट बन्ने बाजा बनाउने काममा बित्ने गरेको छ ।

एक÷दुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट उहाँ पेसामा आएको सङ्कट र व्यवसायमा आएको मन्दीका कारण चिन्तित हुनुहुन्छ । तिहारको समयमा पनि मादलको बिक्री नभएपछि उहाँ वैकल्पिक पेसा अपनाउनु पर्ने हो कि भन्ने सोचमा हुनुहुन्छ ।

उहाँले नारायणगढमा आकृति मादल पसल सञ्चालन गरेको नै दश वर्ष भयो । त्यसअघि मुग्लिनलगायत ठाँउमा उहाँले मादल बनाउने र बिक्री गर्ने गर्नुहुन्थ्यो । “यो सिजनमा कोरोनाभन्दा अघिका वर्षमा दैनिक आठ÷दशवटा मादल बिक्री हुने गथ्र्यो”, उहाँले भन्नुभयो”, “यस वर्ष दिनमा एक÷दुईवटा पनि बिक्री हुन धौधौ छ ।” उहाँले उत्पादन गरेका मादल काठमाडौँ, पोखरा, बागलुङ, बुटवल र पूर्वी नेपालका समेत विभिन्न सहरमा पुग्ने गर्दछ ।

“मादलको बिक्री सबैभन्दा धेरै गाउँमा हुने हो । अहिले गाउँघरमा पनि तिहारको बेला स्पिकर र डेक बजाउन थाले”, उहाँले भन्नुभयो । रु एक हजार ५०० देखि सात हजारसम्मका मादल उहाँले उत्पादन गर्ने गर्नुभएको छ । “पहिले मनोरञ्जनको साधनको रुपमा मादल मात्र थियो, कुलुले भन्नुभयो, “अहिले विभिन्न माध्यम आए ।” मादल बजाउन नजान्ने अहिलेका पुस्ताबाट बाजाको संरक्षण हुन नसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको पुस्ता कतिलाई मादल बजाउन आउँदैन । अङ्ग्रेजी गीतमा नाच्न थालेकालाई मादल बजाउन लाज लाग्न थालेको छ ।” उहाँले विद्यालयदेखिनै मादललगायत अन्य मौलिक बाजा बजाउन बालबालिकालाई सिकाउनुपर्ने विचार राख्नुभयो ।

पलायन हुन थालेका मादल व्यवसायीलाई सरकारबाटै संरक्षण हुनुपर्ने उहाँले बताउनुभयो । “स्थानीय पालिका, टोल विकास समिति, विभिन्न जातजातिका सांस्कृतिक टोलीलगायत मौलिक बाजा बचाऊ अभियानमा लाग्नुपर्छ”, उहाँले भन्नुभयो । व्यवसायीको आम्दानी भएनभन्दा पनि हाम्रो मौलिक अस्तित्व जोखिममा छ भनेर सबैले बुझ्न आवश्यक रहेको कुलुले बताउनुभयो ।

मादल बनाउन प्रयोग हुने सामग्री पूर्वी नेपालबाट ल्याउने गरेको उहाँले बताउनुभयो । अहिले मादललाई आकर्षक देखाउन रिङको प्रयोग हुने गरेकोले सो सामग्री भारतबाट ल्याउन थालेको जानकारी दिनुभयो । उहाँको जस्तै तिहारमा भीडभाड हुने नारायणगढका अन्य मादल पसल पनि सुनसानजस्तै भएका छन् । मादल बजाई देउसीभैलो खेल्ने यो पर्वमा फाट्टफुट्ट ग्राहक मात्र देखिन्छन् । सरकारले नेपाली मौलिक बाजाको संरक्षण गर्न नसक्दा व्यवसाय नै सङ्कटमा परेको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कको उमेश मादल पसलका नारायण नेपालीले बताउनुभयो । एक हप्तामा जम्मा १२ वटा मादल मात्रै बेचेको भन्दै उहाँले यस्तै अवस्था रहे पेसा नै छोड्नुपर्ने अवस्था आउने दुखेसो पोख्नुभयो । “यही अवस्था रहिरे आफ्नो लगानी र घरभाडासमेत तिर्न मुस्किल हुन्छ”, उहाँले भन्नुभयो, “व्यवसायमा यस्तो सङ्कट आजसम्म आएको थिएन ।”

मौलिक बाजामा केन्द्रदेखि स्थानीय सरकारको ध्यान नजाँदा नेपाली परम्परा, संस्कार, संस्कृतिसँगै यससँग सम्बन्धित व्यवसायीको अस्तित्व मेटिँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “तिहारमा हिन्दी गीतमा युवायुवती नाच्न थाले, मादल बजाउँदै देउसीभैलो खेल्ने आफ्नो संस्कृति भुले, विवाह, पूजामा मौलिक गीतलाई बिगारेर गीत बजाउँछन् । आधुनिकतासँगै रोधी बस्न छाडे । यस्तै रहे किताबको पानामा मात्र मादल नेपाली बाजा हो भन्ने हाम्रा पुस्ताले पढ्नेछन् ।”

मादल बेचेर आफ्नो र आफ्नो परिवारको जीविकोपार्जन गरिरहनुभएका नेपालीले आफ्नो बुबाबाट मादल बनाउन सिक्नुभएको थियो । उहाँको यो पुस्तौली पेसा हो । उहाँले यहाँ बनाएका मादल पोखरासम्म पु¥याउनुहुन्छ । गत वर्षसम्म एक हजारमा मादल बेच्दै आउनुभएको उहाँले अहिले महँगीका कारण रु दुई हजार पाँचदेखि पाँच हजारसम्ममा बिक्री गर्दै आइरहेको बताउनुभयो । नारायणगढको घोषणा मादल पसलकी शान्तमाया बसेलले मादल व्यवसाय नै धरापमा परेको बताउनुभयो । “कोरोना सङ्क्रमणभन्दा पहिला व्यापार राम्रो थियो । तिहारमा बढी बिक्री हुने मादल, तीज, दसैँ, शिवरात्रि, स्वस्थानी पूजाको समयमा पनि राम्रो आम्दानी हुन्थ्यो । असार साउनबाहेक बाँकी महिना राम्रो बिक्री हुँदा सन्तोषजनक थियो”, उहाँले भन्नुभयो । आधुनिकतासँगै बाहिरी संस्कार, संस्कृतिप्रति आकर्षित हुँदा मौलिकता बचाउन गाह्रो भएको बसेलको भनाइ छ ।

मादल बनाएर मात्र राष्ट्रिय बाजा मादलको संरक्षण नहुनेमा उहाँको जोड थियो । “जबसम्म मादल बजाउने र खरिद गर्नेको सङ्ख्या बढ्दैन बाजा लोप हुँदै जाने र व्यवसायी विस्थापित हँुदै जानेछन्”, उहाँले भन्नुभयो । नेपाली मौलिक बाजालाई पनि अनिवार्य स्थान दिनुपर्ने निर्णय सरकारबाट हुनुपर्ने उहाँको माग छ । पोखरा बसपार्क रोडस्थित गणेश चोकमा उहाँको मादल पसल छ । दश वर्षदेखि उहाँले आफ्नो श्रीमान् विष्णुकुमार बसेलको साथमा मादल व्यवसाय गर्दै आउनुभएको छ । विष्णु कुमारका अनुसार विद्यालय, सङ्घ–संस्था, मन्दिर, भजनकीर्तन समूहलगायत व्यक्तिगत प्रयोजनको लागि मादल खरिद गर्ने गरेका छन् ।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानले तिहारलगायत पर्वमा समेत मादल घन्कन छाडेको बताउनुभयो । उहाँले सजिलोका कारण पछिल्लो युवापुस्ताले विद्युतीय साउण्डसिस्टम बजाउने गरेको भन्दै पछिल्लो पुस्तामा गाउने र बजाउने कला पनि कम भएको बताउनुभयो । “राज्यले संरक्षणका काम गर्न नसके नेपालको सांस्कृतिक बाजा लोप हुने अवस्थामा पुग्नसक्नछ्”, उहाँले भन्नुभयो ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available