वायु प्रदूषकै कारण कारण वर्षिक ३० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु हुने गरेको विश्व ब्यांकले सार्वजनिक गरेको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन २०७९ मा उल्लेख छ। झण्डै सम्पूर्ण जनसंख्या असुरक्षित तहको अति सूक्ष्म धुलकणको प्रभावमा रहेको तथा यसले गर्दा स्वास्थ्य अवस्था प्रभावित भएर उत्पादकत्व र आर्थिक प्रतिफल घटेको प्रतिवेदनले औंल्याएको छ।
दाउरा/कोइला/गुइँठा आदिको प्रयोग गरी पकाउने, हिँडडुल तथा कृषि अवशेष र फोहोर जलाउने कार्यबाट बढी वायु प्रदूषण भएको प्रतिवेदनमा छ। वायु प्रदूषणबाट वार्षिक रुपमा कूल गार्हस्थ उत्पादनको करीब ६.५ प्रतिशत बराबरको रकम लोक कल्याणकारी कार्यमा घाटा भइरहेको अनुमान गरिएको छ।
प्रतिवेदनले नेपालमा जलवायु परिवर्तनको असरले भविष्यमा विपद् जोखिम बढ्दै जाने र मानिस, अर्थतन्त्र, वातावरण र विकासका उपलब्धिहरू प्रभावित हुने आकलन गरेको छ। सन् २०१६ देखि सन् २०४५ सम्मको अवधिमा नेपालको तापक्रम करिब ०.९ डिग्री सेल्सियसले वृद्धि हुने प्रक्षेपण गरिएको छ। हिउँद याम अझ बढी सुक्खा र वर्षाको मात्रामा तीन गुणा वृद्धि भई मनसुन याम अझ बढी जोखिमयुक्त हुने प्रतिवेदनले अनुमान गरेको छ।
जलवायु परिवर्तनको प्रभावका कारण नेपालका नदीमा आउने बाढीबाट वार्षिक रुपमा प्रभावित हुने मानिसको संख्या आगामी एक दशकमा दोब्बर हुने प्रक्षेपण गरिएको छ। सन् २०१० मा एक लाख ५७ हजार मानिस प्रभावित भएकोमा सन् २०३० भित्रमा यस्तो संख्या तीन लाख ५० हजार नाघ्ने प्रतिवेनको आकलन छ।
जलवायु परिवर्तनका कारण कृषि उत्पादकत्वमा ह्रास, सडक पूर्वाधारमा क्षति र सुक्खा याममा ऊर्जा आयातमा उच्च वृद्धि हुँदा नेपाली अर्थतन्त्र प्रभावित भएको प्रतिवेदनले औंल्याएको छ। गत ४० वर्षको अवधिलाई विश्लेषण गर्दा बाढी र पहिरो सबैभन्दा धेरै हुने प्राकृतिक प्रकोपका रुपमा रहेका छन्।
जलवायु परिवर्तनमा तिव्रता आउँदै गर्दा यी प्रकोपका घटनामा वृद्धि हुने आकलन अध्ययनले गरेको छ। जलवायु परिवर्तनका कारण खाद्य असुरक्षा देखिन थालिसकिएको र भविष्यमा असमानता बढाउनसक्ने अनुमान पनि गरिएको छ।
प्रतिवेदनले जलवायु परिर्वतनका कारण जलस्रोतको क्षेत्र गम्भीर रुपमा प्रभावित भएको उल्लेख गरेको छ। बढ्दो तापक्रमका कारण दक्षिणएशियाली क्षेत्रमा स्वच्छ पानी आपूर्तिको महत्त्वपूर्ण स्रोतका रुपमा रहेको उच्च हिमनदीको भविष्य जोखिममा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ। जलवायु परिवर्तनले वर्षाको चरित्रमा समेत फेरबदल ल्याउने सम्भावना छ।
पर्याप्त पानी उपलब्ध नहुँदा साना जलविद्युत आयोजना एवं कृषि व्यवसाय प्रभावित भई कृषिमा आश्रित मानिसको जीविकोपार्जनका लागि खाद्य असुरक्षाको समस्या सिर्जना हुने जोखिम प्रतिवेदनले देखाएको छ। लामो र चरम खडेरीका कारण महत्त्वपूर्ण बाली लगाउने समयमा कृषिजन्य प्रयोगका लागि पर्याप्त पानी उपलब्ध हुन नसकी अन्न नफल्ने र उत्पादकत्वमा ह्रास आउने समस्या देखा पर्न सक्नेतर्फ प्रतिवेदनले सचेत गराएको छ।
प्रतिवेदनले पूर्वाधारमा बाढीजन्य घटनाको प्रभाव, श्रम उत्पादकत्व र स्वास्थ्यमा तापक्रम वृद्धिको प्रभाव र कृषि एवं पशुधनमा तापमान वृद्धिको प्रभावबाट सन् २०५० भित्रमा नेपालको अर्थतन्त्र ७ प्रतिशतले सानो हुनसक्ने अनुमान गरेको छ।
प्रतिवेदनले जलवायु परिवर्तन सिर्जित जोखिमसँग लड्न विभिन्न उपायहरू पनि सुझाएको छ। विश्व ब्यांकका तर्फबाट एलिस जोन ब्रुक्सको नेतृत्वको समूहले यो प्रतिवेदन तयार गरेको हो। राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदनले हरित, उत्थानशील र समावेशी विकास हासिल गर्न जलवायु तथा विकासका एकीकृत समाधान लागि आवश्यक पर्ने नीति एवं लगानी सम्बन्धी विभिन्न सुझाव दिएको छ।
Discussion about this post