जनक सापकोटा ,
नेपाली जनताको लागि पछिल्लो पाचँ वर्ष पनि सन्तोषजनक रहेन। संविधानसभा बाट संविधान निर्माण भएपछि देशले निकास पाउने अपेक्षा थियो। राजनीतिक अस्थिरता, अजारकता, भ्रष्टाचार, महङ्गि जस्ता समस्याको समाधान हुने आशा थियो तर त्यो आशा निराशामा परिणत भयो। बरु थप समस्याहरु चुलिँदै गए ।
पाचँ वर्षपछि देश फेरि संसदीय चुनावको माहोलमा प्रवेश गरेको छ। सबै राजनीतिक दल, बुद्धिजीवी, स्वतन्त्र उम्मेदवार चुनावको तयारिमा जुटिरहेका छन। खास गरि विगत ३० वर्षदेखि सिमित नेताहरुको चक्रव्यूह का फसेको राजनीतिलाई निकास दिनुपर्ने छ। किनभने अहिले शिर्ष तहमा रहेका नेताहरुले देशलाई निकास दिन सक्दैनन भन्ने कुरामा कुनै दुविधा छैन।
पुराना राजनीतिक दल र नेतृत्वबाट सबै वाक्क भईसकेका छन। कसैले त्यसलाई बाहिर प्रकट गर्छन त कसैले गर्दैनन। सामाजिक सञ्जाल, विभिन्न कार्यक्रम, गोष्ठि, भेलाहरुमा राजनीतिक दललाई गालि नगर्ने सायदै होलान् ।
संविधान निमार्णपछिको दोस्रो संसदीय चुनावले देशको सहि गोरेटो कोर्ने नेतृत्वको खोजि गरिरहेको छ। यसको सन्देश भर्खर सम्पन्न भएको स्थानीय चुनावबाट मतदाताले दिईसकेका छन। काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्त्र उम्मेदवारले जित्नु पुराना दललाई मात्र चुनौति नभई समग्र दलिय व्यवस्था माथिको चुनौति हो। तर स्थानिय चुनावमा जस्तो संसदीय चुनावमा स्वतन्त्रको वा नयाँ राजनीतिक दलको किल्ला गाड्न भने सजिलो छैन।तर पनि यसपालिको चुनावबाट देशले जुनसुकै हालतमा भएपनि राजनीतिक निकास दिने नेतृत्व खोजिरहेको छ।
हामी अब कस्तो नेतृत्व चाहन्छौं ? हावर्ड वा अक्सफोर्ड विश्वविद्यालय पढेर आएको? दुई तीन ओटा विषयमा डिग्री गरेको? क्रान्तिकारि ? उमेरले युवा वा तन्नेरी ? राम्रो भाषण गर्न जानेको ? हरेक कुरामा ज्ञान भएको ? सामाजिक सेवामा लागेको? कलाकारितामा सफल भएको? पत्रकारितामा सफल भएको? वर्षौसम्म जेलमेल खेपेको? अनि नेतालाई राम्रोसँग गालि गर्न जानेको? आखिर हामि कस्तो नेतृत्व चाहन्छौं ? के को लागि नेतृत्व बदल्न चाहन्छौ?
के शेरबहादुर देउवाको शैक्षिक योग्यता कम छ? के उनी ५०/५२ वर्षको उमेरमा प्रधानमन्त्री बनेका होइनन् र? के डा.बाबुराम भट्टराईको अध्ययन कम थियो? के प्रचण्डमा साहस र परिवर्तनको हुटहुटि थिएन ? के.पि ओलिको शैक्षिक योग्यता कम होला तर उनिमा कुनै ज्ञानको कमि देखिन्छ? आखिर यति हुदाहुदै पनि किन परिवर्तन भएन त? किनभने उनिहरुको उदय केवल व्यवस्था परिवर्तन लागि भएको थियो। उनिहरुको लडाँई पञ्चायत र राजतन्त्र विरुद्धको थियो। उनिहरुसगँ व्यवस्था परिवर्तनका एजेन्डा थियो तर अवस्था परिवर्तनका एजेन्डा थिएनन्। उनिहरु इगोको राजनीतिबाट राजनीतिमा स्थापित भएका थिए ।
यिनिहरुको विकल्प खोजिरहेका नयाँ दलहरुका एजेन्डा के? नेतृत्व परिवर्तन कि अवस्था परिवर्तन ? यदि नेतृत्व परिवर्तन हो भने किन? यति अवस्था परिवर्तन हो भने कसरी? के व्यवस्था वा नेतृत्व बदलिँदा बित्तिकै देशले विकासको निकास पाउन सक्छ? के पुराना राजनीतिक दल र अनुहारलाई हराउँदा साथ चमत्कार भईहाल्छ त? यति त्यसो हो भने त्यसका आधारहरु के के हुन सक्छन् त?
खासगरि पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा लगायत पूर्व प्रधानमन्त्री र शिर्ष तहका नेताहरुलाई यसपालि संसद प्रवेशमा रोक लगाउने अभियान नै चलेको छ। विभिन्न दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले के.पि ओलि, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरुको विरुद्ध उम्मेदवार घोषणा गर्नेहरुको लर्को छ।
आयमिक दल तथा नेतृत्वले वेथिति विरुद्ध भन्दा पनि व्यक्ति विरुद्ध राजनीति गर्ने प्रवृत्ति बढ्दो देखिन्छ। अझ नयाँ दल, स्वतन्त्र उम्मेदवारहरुको त यो चुनावि एजेन्डा जस्तै देखिन्छ। अन्य राजनीतिक दलहरुलाई गालि गरेर भोट तान्ने संस्कारको झोला नयाँ दलहरुले पनि बोक्नु दु:खत हो। यस्तो इगोको राजनीतिले देशलाई झन अस्थिरतातिर धकेल्छ।
जसरि अघिल्लो पुस्ताको नेतृत्व व्यवस्था परिवर्तनको निम्ति लड्यो र त्यसको नतिजा आफ्नो कोल्टामा पार्न सफल भयो तर राज्य सञ्चालनमा पटकपटक चुक्दै आईरह्यो। त्यसरि नै अहिलेको पुस्ताले पनि नेतृत्व परिवर्तन भन्ने तर के को लागि नेतृत्व परिवर्तन भन्ने कुरामा स्पष्ट नहुने हो भने त्यसले देशलाई खोजेको गन्तव्यतर्फ लैजान सक्दैन।
हाम्रो पुस्ताले इगो र उत्तेजनाको राजनीति गर्नुहुँदैन, इगो र उत्तेजितको राजनीतिले हामीलाई कहिँ कतै लैजान सक्दैन। उल्टो यसले देशलाई ठूलो दुर्घटनामा लगेर जान्छ। हाम्रो पुस्ताले व्यवस्थाको विकल्प मात्र होइन अवस्थाको विकल्पको लागि राजनीति गर्नुपर्छ। एकले अर्कोलाई गालि गरेर जनतालाई भावनात्मक रुपमा उत्तेजना पार्ने काम बन्द हुनुपर्छ।
बरु एकले अर्कोलाई गालि गर्ने समयको सदुपयोग गर्न सक्नुपर्छ। उनिहरुले गरेका गल्तिबाट हामिले सिक्नुपर्छ।कमिकमजोरिको विरोध भन्दा विकल्प खोज्नुपर्छ। व्यक्ति लक्षित राजनीति भन्दा जनता लक्षित राजनीति गर्नपर्छ। नयाँ दल वा नेतृत्वले हिजो कसले के गर्यो वा गरेन भन्दा पनि भोलि सत्तामा गएपछि हामिले के गर्ने भन्ने विषयका स्पष्ट भिजनका साथ अगाडि बढ्नुपर्छ।
Discussion about this post