ज्योतिनगर । बर्खा लागेसँगै भरतपुर–२६, शिशै निवासी ६३ वर्षीय जीवनराम महतोको निद्रा हराउन थालेको छ । सधैँ खेल्दै आएको नारायणी नदी नै काल बन्ने हो कि भन्ने त्रास छ उनलाई । कतिबेला नारायणी बढेर आउँछ र आफूहरुको उठीवास लाग्ने हो भन्ने चिन्ताले उनीसँगै गाउँका धेरैजसो बासिन्दा रातमा समेत निदाउन सकेका छैनन् ।
‘हिउँदभरि त हामीलाई खासै दुःख हुँदैन’, उनी भन्छन्, ‘बर्खा सुरू हुन्छ अनि हाम्रो पीडाका दिनहरु सुरू हुन्छन् ।’
नेपालमा मनसुन भित्रिएसँगै मनसुनजन्य प्रकोपको जोखिमका कारण नदीकिनारमा बसोवास गर्ने मानिस त्रासमा बाँच्न बाध्य छन् । पश्चिम चितवनको शिवघाटदेखि गोलाघाटसम्मका स्थानीय बासिन्दाहरु नारायणी नदीबाट बर्सेनि पीडित हुने गरेका छन् । हरेक वर्ष वर्षायाममा नारायणी नदीले वितण्डा नै मच्चाउने गर्छ । भरतपुर–२६ का कोइला, शिशै भगडी क्षेत्रमा नदी कटान र डुबानको उच्च जोखिम रहेको छ ।
मनसुन सुरू भएदेखि मनसुन नसकिने बेलासम्म आफूहरु ढुक्कसँग निदाउनसमेत नसक्ने गरेको भरतपुर–२६, शिशै निवासी रामप्रसाद महतो बताउँछन् । ‘बेलुका सुत्दा त ठिकै सुतेका हुन्छौँ, तर राति नदी बढेर घरभित्रै आयो कि भन्ने पीडाले निद्रा नै लाग्दैन’, उनले भने, ‘राति उठ्दा खाटमुनि पानी पसेको पो छ कि, कतै घर पो डुब्यो कि भन्ने पीडाले सताउने गरेको छ ।’
पोहोरको बाढी बस्तीमा पसेपछि घरहरुका सामान, लत्ताकपडा तथा अन्य सामग्रीहरु आफन्त तथा स्कुलमा लगेर राखिएको थियो । ‘यहाँका खेतीयोग्य बिघौँबिघा जमिनको रोपो बगाएर खेत नै उजाड बनेर गाँस पनि खोसिएको छ, बस्ती पनि सङ्कटमा छ । अहिले त्रास र दुःखमात्रै बाँकी छ’, उनी भन्छन् ।
आफूले थाहा पाउँदा नदी बस्तीबाट धेरै टाढा रहेको बताउँदै महतोले अकल्पनीयरुपमा नदीले छ–सात सय मिटर जमिन कटान गरेको र करिब आठ–दस बिघा नै क्षति पु¥याउँदै जनताको तटबन्ध कार्यक्रमअन्तर्गत बनाइएको स्पर भत्काएर लगेकोे बताए । तटबन्धको नाममा ठेकेदारले बलियो नदीकिनार फोरेर कमजोर स्पर बनाएको भन्दै उनले जोगी कुटीमा थुनेर नदीको धार मोड्न खोज्दा यहाँ कटान बढेको बताए ।
प्रभावकारी तटबन्ध नगर्ने हो भने उच्च जोखिममा रहेका कोइला, शिशै भगडी, सिस्वार क्षेत्रका सम्पूर्ण बस्ती उठ्ने खतरा रहेको कालाबञ्जर मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष भूपालनाथ कँडेल बताउँछन् । बर्सेनि बस्तीतर्फ बढेको नदी गम्भीर चिन्ताको विषय बनेको भन्दै उनले पोहोरमात्रै नारायणी नदी बढ्दा भरतपुर–२६ का झन्डै ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको र यसवर्ष पनि यस्तै अवस्था रहेको बताए । वर्षामा घरछेउमा नारायणी बग्ने हुनाले स्थानीय तहले बर्सेनि आउने समस्यालाई मध्यनजर गर्दै बाढी प्रतिरोधात्मक दिगो शक्ति आर्जनलाई आफ्नो कार्यसूचीमा समावेश गरी समयमै ध्यान केन्द्रित गर्नुपर्ने उनको जोड छ ।
बर्सेनि वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा चार अर्ब ७२ करोड रकमबराबरको तटबन्ध निर्माण सुरू गरिएको छ । तटबन्ध निर्माणका लागि तीन खण्डको बोलपत्र आह्वान भइसकेको छ । बाँकी एक खण्डको आउँदो साताभित्र बोलपत्र आह्वान गर्ने गरी काम अघि बढाइएको वताउँछन्, नारायणी नदी तटबन्ध व्यवस्थापन आयोजना भरतपुरका प्रमुख रवीन्द्रकुमार थापा ।
उनका अनुसार पहिलो खण्ड भरतपुर महानगरपालिका वडा नं–२६ र २७ मा पर्ने पाँच किलोमिटर ६७२ मिटरको बोलपत्र भएको हो । हरेक वर्ष बाढीले दुःख दिने गरेको शिशै क्षेत्रको बोलपत्र चाँडो प्रकाशित गरिएको हो । यसै वर्षको वर्षात्मा बाढी रोक्न सकियोस् भनेर काम थालिएको उनको भनाइ छ ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शिवजी साहका अनुसार कङ्क्रिटको ब्लक, जाली र साना–ठूला ढुङ्गा राखेर त्यहाँ तटबन्ध गरिँदैछ । तीन मिटरदेखि चार दशमलब पाँच मिटरसम्म उचाइको तटबन्ध निर्माण गरिँदैछ । तटबन्ध निर्माण कार्य पूरा नभएको हुँदा स्थानीयको त्रास कायमै रहेको हो ।
Discussion about this post