Nirvik Khabar

श्रीलंकामा भोकमरी: सन्तानलाई पेटभरी खुवाउने चिन्ता

विगत वर्षदेखि नै श्रीलङ्काको बिग्रिएको अर्थतन्त्रका बारे धेरै बहस भएको छ। त्यहाँको आर्थिक मन्दी, जीवनयापनको समस्या, इन्धन अभाव र खाद्यान्न अभावका समाचार पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्राथमिकताका विषय बने। त्यो आर्थिक संकट अहिले चरम उत्कर्षमा पुगेको छ।

भर्खरै पकाइएको भातको बास्ना, पालुङ्गोको सागको साथमा दाल। धेरै जना महिला बच्चालाई साथमा लिएर लाइन लागेर बसेका छन्। ‘भोक लागेकै कारण हामी यहाँ छौ’, चार बच्चाकी आमा चण्डिका मनेलले भनिन्।पाउरोटीका टुक्रा किन्नसमेत कठिन भएको समयमा बच्चालाई यसरी भात खुवाउन पाउँदा उनी अत्यन्त खुसी छन्। तरकारी महँगो भएका कारण उनले बच्चालाई दूध र भात मात्र खुवाउने गरेकी थिइन्।

वैदेशिक मुद्रा नहुनु, ऋण बढ्नु र मुद्रास्फीतिका कारण श्रीलङ्काको अवस्था ज्यादै खराब भएको छ। राष्ट्रपति गोटबाय राजपाक्षेमाथि पर्यटन व्यवसाय ध्वस्त पारेको तथा महामारीको समयमा देशको अर्थतन्त्रलाई सम्हाल्न नसकेको आरोप त लागेको छ नै। आम जनमानसमा राज्यप्रतिको वितृष्णा पनि बढ्दो छ।

राष्ट्र सङ्घकै अनुसार अहिले श्रीलङ्का मानवीय सङ्कटको चरणमा पुगेको छ। वर्षको सुरुवातदेखिका यता ७० प्रतिशतले आफ्नो छाक कटाएका छन्।सामुदायिक भान्छा घरमा मनेल पहिलो पटक प्रवेश गरेकी हुन्। महँगी बढेर बच्चालाई राम्रोसँग खुवाउन नसक्ने भएपछि उनी त्यहाँ पुगेकी हुन्।

यो सामुदायिक भान्साको स्थापना भएको तीन महिना भएको छ। पास्चर आकाश मोसेसले लगातार तीनदेखि एक छात्र मात्र खाएकी आमालाई भेटेपछि यो सामुदायिक भान्साको सोच अगाडि ल्याएका हुन्। मोसेस गएको चार महिनादेखि दिनको दुई छाक खान नसक्ने धेरै भेटिएको बताउँछन्।

त्यहाँ सुरुवाती दिनमा ५० जनाको हाराहारीमा लाइन बस्ने गरेका थिए। त्यो बढेर अहिले २ सय ५० सम्म पुगेको छ। जुन महिनामा मात्र खाद्यान्नको मूल्यमा ८० प्रतिशत वृद्धि भएपछि यो लाइनलाई उनले सामान्य ठान्न थालिसकेका छन्। उनी भन्छन्, ‘धेरै बच्चा देख्छु। ती मध्यका अधिक कुपोषणको सिकार भइसकेका छन्।’

गर्भवती भएकी साहना पनि त्यहाँ पुगेकी छन्। तीन बच्चाकी आमा उनको अर्को बच्चाको समय सेप्टेम्बर हो। उनी आफ्नो बच्चाको भविष्यका बारे धेरै चिन्तित छन्। उनी रुँदै आफूले बच्चाका लागि एक प्याकेट दूध र बिस्कुट पनि खरिद गरेर दिन नसकेको बताउँछिन्।

साहनाका श्रीमान् मजदुर छन्। सातामा मुस्किलले १० डलर आम्दानी गर्छन्। ‘हाम्रा नेता सुखी जीवन बिताइ रहेका छन्। उनीहरूका बच्चाले खुसी साथ बाच्न पाउनु पर्छ भने हाम्रा बच्चाले किन नपाउने ?’ उनको सरकार प्रतिको आक्रोश छ। साहनाले बच्चालाई जन्म दिने समय जति नजिक आएको छ, त्यहाँको समय उत्ति नै खराब बन्दै छ। कोलम्बोका मेयरले सेप्टेम्बरसम्मलाई पुग्ने खाद्यान्न मात्र सहरमा रहेको बताइसकेका छन्।

इन्धन अभाव, पकाउने ग्यासको अभाव र दैनिक ऊर्जामा कटौती भएपछि अहिले धेरै परिवारका लागि बजारमा खाद्यान्न किन्न तथा भएको अन्नलाई पकाएर खान पनि कठिनाइ भएको छ।

‘धेरै परिवार आफूले प्रयोग गर्ने गरेको कुरा खरिद गर्न नै छाडिसकेका छन्। उनीहरू खाद्यान्न र अन्य पोषण युक्त कुराको उपभोग गर्न छाडेका छन्। कुपोषणको पिकमा श्रीलङ्का गइरहेको छ’, युनिसेफका श्रीलङ्कास्थित प्रतिनिधि क्रिस्चीयन स्कटले भने ‘हामीले मानवीय सङ्कटको चरम अवस्थालाई टारेका छौँ। धमाधम बच्चा मरेको हेर्नु परेको छैन। तर, त्यो अवस्था आउन नदिन सतर्क हुन जरुरी छ।’

युनिसेफले अहिले नै कुपोषणबाट ग्रसित बच्चाका लागि धेरै नै सहयोगको आवश्यकता ठहर गरेको छ। साथै प्राथमिक स्वास्थ्य संयन्त्रलाई पनि तत्काल सुधार गर्न आवश्यक रहेको जानकारी दिइसकेको छ।

गम्भीर कुपोषणबाट ग्रसितको सङ्ख्या १३ प्रतिशतबाट बढेर २० प्रतिशत पुग्नसक्ने छ। श्रीलङ्का मेडिकल न्युट्रेसन एसोसिएसनकी प्रमुख रेनु जयतीसा ३५ हजार बच्चा कुपोषण ग्रसित भए पनि यो सङ्ख्या दुई गुणाले वृद्धि हुन सक्ने बताउँछिन्।

अहिले यो सङ्कटमा श्रीलङ्काले अन्तर्राष्ट्रिय समुदायको सहयोग र प्रतिवद्धताको आवश्यकता महसुस गरेको छ। कोल्बो क्यासल स्ट्रिक हस्पिटलका डा. समन कुमारा सबैको सहयोग नभए विस्तारै विरामी नै बचाउन नसक्ने दिन पनि आउन सक्ने बताउँछन्। उनका अनुसार अहिले अस्पताल अति आवश्यक स्वास्थ्य सुविधाका लागि पनि चन्दाको भर परेको छ। उनले बिरामीका लागि पनि दाताको आवश्यकता रहेको बताएका छन्।

त्यही सामुदायिक भान्सालाई फेरि एक पटक हेर्ने हो भने चन्द्रिकाले अन्तिम चम्चा सानो बच्चालाई खुवाउँदै भनिन्, ‘आजको दिन साँच्चै राम्रो भयो।’ श्रीलङ्कामा रहेको सङ्कटको शृङ्खला त यसरी थपिँदै छ कि, प्रत्येक दिन नयाँ समस्याले त्यहाँ प्रवेश पाउने गरेको छ।

७० वर्ष यताकै गम्भीर आर्थिक संकट झेलीरहेको श्रीलङ्काका ऊर्जा मन्त्रीले थप ऊर्जा संकट आउन सक्ने चेतावनी दिइसकेका छन्। मन्त्री मञ्चना विजेसराले केही दिनपछि पेट्रोलियम पदार्थ पनि बाँकी नरहने जनाइसकेका छन्। गत साता नै श्रीलङ्काले अति आवश्यक भन्दा बाहेकका क्षेत्रमा पेट्रोल बिक्री नगर्न सर्कुलर गरी सकेको छ।

२२ या २३ जुलाईमा त्यहाँ पेट्रोल पुग्न सक्छ। त्यस समयसम्म पुग्न कठिन हुने भएकाले अति आवश्यक भन्दा अन्यत्र बिक्री वितरण गर्न रोक लगाइएको हो। धेरै पेट्रोल खरिद गर्नका लागि त्यहाँ अहिले विदेशी मुद्राको पनि त्यस्तै अभाव छ। श्रीलङ्कासँग १ सय २५ मिलियन डलर मात्र पेट्रोल खरिदका लागि विदेशी मुद्रा छ। माग अनुसारको खरिद गर्ने हो भने सरकारसँग कम्तीमा पनि ५ सय ८७ मिलियन डलर आवश्यक हुन्छ।

गत साता श्रीलङ्काले दुई साताका लागि निजी गाडीमा पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक लगाइएको थियो। सन् १९७० मा यूरोप र अमेरिकामा पनि यस्तै किसिमको ऊर्जा संकट भएको थियो। त्यसपछि सामान्य व्यक्तिलाई पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक लगाउने श्रीलङ्का पहिलो देश बनेको छ।

सन् १९४८ मा स्वतन्त्र भएको श्रीलङ्का त्यस यताको सबैभन्दा ठूलो आर्थिक सङ्कटबाट गुज्रिएको छ। अति आवश्यक विषयको खरिद गर्नका लागि यथेष्ट विदेशी मुद्राको समस्याले श्रीलङ्कामा थप समस्या सिर्जना भएको छ ।

श्रीलङ्काको समस्याको मूल कारण भने चिनिया बेल्ट एन्ड रोड इनिसेटिभ (बीआरआई) परियोजनालाई मान्ने गरिन्छ । श्रीलङ्काको यो आर्थिक र मानवीय सङ्कटमा संसारकै ध्यान र चासो मोडिएको छ। त्यहाँ रहेको समस्यालाई समाधान गर्न संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्य दातृ निकायले चासो दिइरहेका छन्। साथमा अन्य छिमेकी देशको पनि त्यहाँको समस्या समाधान गर्न चासो बढाएका छन्। चीन भने त्यहाँ मानवीय संकट आउँदा पनि बढी लाभ लिन नै केन्द्रित छ।

श्रीलङ्काको यो सङ्कटमा सबैभन्दा धेरै साथ छिमेकी देश भारतबाट नै पाएको छ। भारतले इन्धन लगायत विषयमा सहयोग गरेको हो।चीनको बीआरआई परियोजनाबाट सुरु भएको सङ्कटमा अन्य प्राकृतिक, सामाजिक र दैवी घटना पनि थप कारक बनेपछि श्रीलङ्का एकपछि अर्को भुमरीमा फसेको हो।

कोरोना महामारी त एउटा कारण छँदै थियो। सन् २०१९ मा चर्चमा भएको एउटा बम आक्रमणका कारण थुप्रै पर्यटक श्रीलङ्का आउन बाट हच्किएका थिए। यसरी एकपछि अर्को सङ्कटमा फसेको श्रीलङ्काका लागि मानवीय सहयोग नै अहिलेको आवश्यकता बनेको छ। स्रोत : बीबीसी, अल जजिरा र हिन्दू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस