नकोरिएका सन्दर्भहरू
(जीवनचरित : अनीता ढुङ्गेल)
प्रा. डा. अञ्जनीकुमार शर्मा नेपाली शल्यचिकित्सा क्षेत्रका एक धरोहर हुन् भनिरहँदा फरक पर्दैन । शल्यचिकित्सा अर्थात् अपरेसन आफैँमा जटिल कार्य हो । कुनै जीवित व्यक्तिको उपचार हेतु शरीर चिरेर, त्यहाँभित्र आवश्यक उपचार गरेर, पुनः चिरेको ठाउँमा टाँका लगाएर बिरामीलाई निको पार्नु एउटा सामान्य मानिसका लागि दन्त्यकथा हुन जान्छ ।
दन्त्यकथाझैँ लाग्ने काम गरी नेपालका हजारौँ मानिसलाई बिरामीबाट निको बनाएका शल्यचिकित्सक (सर्जन) डा. अञ्जनीकुमार शर्माको जीवनचरित ‘नकोरिएका सन्दर्भहरू’ प्रकाशनमा आएको छ । पुस्तक लेखेकी हुन्, डा. शर्माकी सुपुत्री अनीता ढुङ्गेलले । उनी अंग्रेजी साहित्यकी प्राध्यापक हुन् ।
वि.सं. २०७१ साल असोजमा निधन भएका प्राध्यापक शर्माको पेसागत सक्रियता झन्डै ६० वर्षसम्म रह्यो । निधन हुनु तीन महिना पूर्वसम्म उनी भक्तपुर क्यान्सर अस्पताल गएर बिरामीहरूको हौसला बुलन्द गर्दै थिए ।
यो ६ दशकको समय उनले बिरामीको उपचार र शल्यक्रिया गर्दै तिनलाई खुसी बनाउनमा बिताए । त्यसका अतिरिक्त उनी समाजसेवामा पनि उत्तिकै सक्रिय थिए । २०११ सालतिर वीर अस्पतालमा मेडिकल अफिसर भएर प्रवेश गरेका डा. अञ्जनीकै सक्रियतामा अस्पतालमा शल्यचिकित्सा विभाग स्थापना भएको पुस्तकमा उल्लेख छ ।
२०१७/०१८ सालमा बेलायतबाट एफआरसीएस गरेर फर्किएका डा. शर्माले शल्यचिकित्सालाई नेपालमा स्थापित गर्दै अगाडि बढिरहे । उनीसँगै डा. दिनेशनाथ गोंगलहरूको साथ र सहयोग पनि शल्यचिकित्साका क्षेत्रमा मिल्दै गयो र यो क्षेत्र विस्तारित हुँदै गयो ।
पुस्तक लेखक अनीता ढुङ्गेल प्राक्कथनमा लेख्छिन्, ‘यदि यस्ता अनगिन्ती विषय–सन्दर्भहरू पुस्तकको रूपमा नआउने हो भने उहाँका सारा कर्मकथाहरू लोप भएर जान सक्छन् भन्ने कुरा राजेशले मलाई सम्झना दिलाए । सत्य हो, उहाँको यस्ता विविध क्षेत्रहरूमा गरिएको लगानी अथाह छ । ती कार्यहरूको संरक्षणका लागि पनि उहाँको जीवनसँग जोडिएको पुस्तक लेखिनु आवश्यक रहेको हामी सामान्य मान्छेले बुझ्यौँ । त्यसउप्रान्त (वि.सं. २०६८ तिर) हामीले पुस्तक लेख्नु नै पर्छ भनेर ड्याडीलाई कन्भिन्स गर्यौँ, साथै ‘अब लेख्न सुरु गर्छौँ है’ भनेर घोषणा पनि गर्यौँ ।…।’
शल्यचिकित्साको विकास अनि त्यसको व्यापकीकरणमा मात्रै नभएर डा. शर्माको क्रियाशीलता विभिन्न सामाजिक संस्थाहरूमा पनि रह्यो । लायन्स क्लब इन्टरनेसनललाई नेपालमा स्थापित गरेका डा. शर्मा नेपाल क्यान्सर रिलिफ सोसाइटीका संस्थापक उपाध्यक्ष पनि थिए । यसरी सामाजिक क्षेत्रमा निरन्तर लागिरहने डा. शर्मा नेपालमा मेडिकल शिक्षाको उत्थानमा समेत लागेको पुस्तकबाट थाहा हुन्छ ।
भक्तपुर क्यान्सर अस्पतालका संस्थापक डा. शर्माको जीवनचरित कोरिएको यस कृतिमा डा. हेमाङ दीक्षित आफ्नो भूमिकामा उल्लेख गर्छन्, ‘डा. अञ्जनीले शिक्षण अस्पतालमा पढाउँदाखेरि मेरो उहाँसँगको सम्पर्क अझै नजिकियो । उहाँले त्रिवि शिक्षण अस्पतालको प्रोफेसर र हेड अफ सर्जरी भएर काम गर्नुभयो । त्यसबाहेक उहाँ नेपाल मेडिकल कलेज, जोरपाटीको संस्थापक सदस्य पनि हुनुहुन्थ्यो । चिकित्सा शिक्षामा उहाँको ठूलो देन छ ।’
सर्जनको जीवनकथामा सर्जक तथा समालोचक प्रा. डा. ज्ञानू पाण्डेले आफ्नो भनाइ यसरी राखेकी छन्, ‘…नेपाली साहित्यमा यस विधामा कलम चलाउने नारीस्रस्टाहरूको संख्या उति धेरै छैन । त्यसमाथि पनि पुत्रीको कलमबाट पिताको जीवनीबारे लेखिएको पुस्तक पढ्न पाउनु भनेको त अझै दुर्लभ कुराजस्तो भइरहेको अवस्था छ हाम्रोमा ।…।’
‘नकोरिएका सन्दर्भहरू : प्रा. डा. अञ्जनीकुमार शर्माको जीवनचरित’मा सात अध्यायमा उनको जीवनका विविध आयामहरूलाई प्रस्तुत गरिएको छ । पहिलो अध्यायले शुक्लाफाँटा दुर्घटना – रानी रत्नको शल्यक्रियाका सन्दर्भलाई प्रस्तुत गरेको छ भने दोस्रो अध्यायमा डा. शर्मा स्वयम् क्यान्सरबाट पीडित हुँदाको यथार्थ पुस्तकमा छ ।
यस्तै, पुस्तकमा डा. शर्माको बाल्यकाल, किशोरकाल, चिकित्सा विज्ञानको अध्ययन, जागिर र शल्यचिकित्सा विभाग स्थापना, नेपालमा चिकित्सा शिक्षाको विकास र समाजसेवाका विभिन्न पाटाहरू प्रस्तुत गरिएको छ ।डा. अनिलकुमार शर्मा, प्रा. डा. सुनिलकुमार शर्मा ढकालद्वारा प्रकाशित २३८+४ पृष्ठको यस जीवनचरितको मूल्य ५५०– रुपैयाँ राखिएको छ ।
मोम्चो
(कथासंग्रह : वसन्त पराजुली)
पत्रकारितामा सक्रिय वसन्त पराजुलीको कथामा पनि क्रियाशीलता छ । उनको दोस्रो कथाकृति केही समयअघि प्रकाशनमा आएको छ, ‘मोम्चो’ नामका साथ ।
कथाकार पराजुलीले पत्रकार भएर काममा हिँड्दा भेटेका विषय, भाव, सन्दर्भ र पात्रलाई कथानक स्वरूप दिँदै आएका छन् । यसअघि उनको ‘कुमाता’ कथासंग्रह प्रकाशित छ ।
आफ्नो भूमिकामा प्रा. डा. गोविन्दराज भट्टराई लेख्छन्, ‘…जुनसुकै होस्, समाज र परम्परा भन्ने कुरो पुरुषले मनपरी खेल्ने मैदान रहेछ । नारीको वञ्चना उनीसँगै छ, विवशता पनि सँगै । यौनिक जीवनले किशोर–किशोरीमा अज्ञात उत्तेजना र अनन्त आकर्षण उत्पन्न गर्छ । त्यसको उपभोगपछि नारी हृदयमा दुःख, क्लेश र पुरुषमनमा अपराधवृत्ति भरिँदो रहेछ ।…।’
कथा लेखनपूर्व गजल, कविता, हाइकु र निबन्धमा पनि कलम चलाउने पराजुलीको एउटा कथा अंशले भन्छ, ‘समय बित्दै गयो । बट्टाको दूधले मात्रै छोरोको शारीरिक र मानसिक विकास अपेक्षाकृत भएन । विस्तारै बच्चा बिरामी हुँदै जान थाल्यो । उसलाई निमोनियाले सतायो । श्वासप्रश्वासको दीर्घरोगी बनायो ।…।’
कथाकार पराजुली आफ्नो भनाइमा लेख्छन्, ‘कथा कोरा कल्पना मात्रै होइन । यो त समाज देखाउने ऐना पनि हो । कल्पनाशीलताभन्दा पनि समाजमा नारीको अवस्था र भोगाइलाई मोम्चोभित्रका प्रायः कथाले आफ्नो विषयवस्तु बनाएको छ ।’
भुँडी पुराण प्रकाशनले प्रकाशनमा ल्याएको १७६+४ पृष्ठको कृतिको मूल्य ३८०– रुपैयाँ राखिएको छ ।
Discussion about this post