चितवन । धार्मिक क्षेत्र देवघाटमा नेपाली सेनाले गौशाला निर्माण गरेको छ ।
महेश सन्यास आश्रम परिसरमा निर्माण गरिएको सो गौशालाको बुधवार एक कार्यक्रम मार्फत आश्रमलाई हस्तान्तरण गरियो ।
नेपाली सेनाको शिघ्र प्रभावी आयोजना अन्तर्गत नयाँ सवुज गण भरतपुरले सो गौशाला निर्माण गरेको हो । गौशाला निर्माणकालागि १० लाख रुपिया खर्च लागेको सेनाले जनाएको छ ।
सो गौशालाको उद्घाटन गर्दै नेपाली सेनाको मध्य पृतना हेटौडाका पृतनापति उपरथी हरेन्द्र पाठकले नेपाली सेना जनताको अभिन्न अङ्ग भएको बताउनुभयो ।
” देशलाई पर्ने विषम परिस्थितिमा नेपाली सेना जनतासगै रहने छ”, उहाँले भन्नुभयो ।
उहाँले नेपाली सेनाले एतिहासिक र पुरातात्विक वस्तुहरुको संरक्षणमा विशेष अभियान सञ्चालन गरिरहेको पनि बताउनुभयो ।
महेश सन्यास आश्रमका पिठाधिस स्वामी रमणानन्द गिरी, नयाँ सवुज गणका सेनानी जितवहादुर थापा लगाएतले बोल्नु भएको थियो ।
नयाँ सवुज गणका गणपति प्रमुख सेनानी दिनेश लामाले गौशाला निर्माणकालागि १० लाख रुपियाँ खर्च लागेको जानकारी दिनुभयो ।
Discussion about this post