एउटा यस्तो समय थियो, जब नेपालीहरू हलमा गएर हेर्ने भनेको त बलिउड र हलिउडका चलचित्र पो हो भन्थे। नेपाली चलचित्र पनि कसले हेर्छ भन्ने मानसिकता व्याप्त थियो। अहिले पनि त्यो मानसिकता शत प्रतिशत परिवर्तन भइसकेको त छैन। तर पछिल्ला समय नेपाली चलचित्रको क्षेत्रमा केही परिवर्तन भने पक्कै भएको छ।दयाहाङ राईको कबड्डी शृंखला र उनको अभिनयले नेपाली चलचित्रको क्षेत्रमा नयाँ आयाम थपेको थियो। उचित अभिनय, कथा र मौलिकता झल्कने चलचित्रहरू बनेमा नेपाली दर्शकहरूले साथ दिन्छन् भन्ने कबड्डी शृंखलाको सफलताले दर्शाउँछ। दीपक–दिपाको छक्का पञ्जा शृंखलाले पनि नेपाली दर्शकले मौलिकता, सही अभिनय र केही मार्केटिङ रणनीति खोजेको देखाएको थियो। छक्का पञ्जा शृंखला कतिसम्म सफल भयो भने हाल यसको पाँचौँ संस्करण चलिरहेको छ। यसका अलावा केही अरु नेपाली चलचित्रहरूले पनि पछिल्लो चरणमा राम्रो गरिरहेका छन्।
यसपालि दशैँको फूलपाती पारेर तीनवटा चलचित्र रिलिज भएः छक्का पञ्जा ५, ज्वाइँ साब र १२ गाउँ। यीमध्ये छक्का पञ्जाको पहिलेको सफलतालाई हेरेर हलहरूले सो चलचित्रलाई सबैभन्दा बढी सो दिए। त्यसपछि १२ गाउँ र ज्वाईं साबलाई। तर समयसँगै १२ गाउँलाई दर्शकहरूको यति धेरै माया प्राप्त भयो कि दीपकराज गिरीले आफ्नै हलमा २ बाट बढाएर आफ्नै चलचित्र बराबर ५ सो दिन बाध्य भए।
क्यूएफएक्समा यसले पनि हाल छक्का पञ्जा ५ भन्दा बढी प्राप्त गरेको छ। खासमा छक्का पञ्जा ५ को पुरानो सफलता र सो चलचित्रको गीतले सामाजिक सञ्जाल छाएको थियो। १२ गाउँ भने यस मामलामा पछि नै थियो किनकि फिल्ममा त्यस्तो भाइरल हुने किसिमको कुनै गीतै छैन। तर पनि चलचित्र प्रदर्शनमा लागेसँगै १२ गाउँले राम्रो लय समात्न सफल भयो। भनिन्छ नि मार्केटिङमा सबैभन्दा बलियो रणनीति ‘वर्ड अफ माउथ हो’। तपाईंसँग राम्रो सामान छ भने यो रणनीति किफायती मात्र होइन सबै भन्दा प्रभावकारी पनि हुन्छ।
चलचित्रको सबल पक्ष
चलचित्रको सबल पक्ष भनेको यसले ल्याएको नयाँपन, कथा अनि विराज भट्ट र समीर भट्टको अभिनय नै हो। कथा नेपालको एक गाउँ १२ गाउँमा सुरु हुन्छ जहाँ गजेन्द्र नामका एक जना स्थानीयको क्रुरताले गाउँलेहरूले सुन्दर भविष्यको कल्पना गर्न छाडिसकेका थिए। तर अति भएपछि खती हुन्छ नै। त्यस्तै परिवेशमा विद्रोहको झिल्को सल्किन थाल्छ। यो भन्दा बढी चलचित्रको बारेमा नभनौँ होला। त्यो पाठकहरूले हलमै हेर्नुहुनेछ भन्ने आशा लिएको छु।
चलचित्रमा नेपाली गाउँको मौलिकता, स्थानीय गुण्डाहरूको ज्यादती, राजनीतिक भ्रष्टाचार र संरक्षणका बारेमा स्पष्टरुपमा देखाइएको छ। इमान्दारी, पारिवारिक वफादारी र समुदायको संरक्षणलाई जोडेर कथा बुनिएको छ। चलचित्रले युवा बेरोजगारी, सहरमा बसाइँसराइ र परम्परागत मूल्यमान्यताको ह्रासजस्ता मुद्दाहरूलाई पनि छोएको छ। यस्तै परिवेशमा विराज भट्टले सामाजिक न्याय र स्थानीय गुण्डाहरूबाट आफ्नो गाउँलाई जोगाउन खेलेको भूमिका सरहानीय छ।
चलचित्रमा विराज भट्टको एक्सन नेपाली चलचित्र क्षेत्रकै उत्कृष्टमा गन्न सकिन्छ। त्यस्तै उनको छोरा समीर भट्टले पनि आफ्नो भूमिकालाई पूर्ण न्याय गरेका छन्। डायलग डेलिभरीदेखि एक्सन सटसम्म उनको प्रस्तुति पहिलो चलचित्र जस्तो छैन। केही चलचित्रमा अभिनय गरिसकेको परिपक्व अनुभवी नायकको जस्तो समीरको प्रस्तुति देखिन्छ।
दक्षीण भारतीय चलचित्रबाट प्रभावित यस चलचित्रले सोही तरिकाको एक्सन ड्रामामा नेपालीपन दिएर पूर्ण न्याय पनि गरेको छ। एक्सनको क्षेत्रमा यस किसिमको सिनेमा सायदै यसअघि नेपालमा बनेको थियो होला। नेपाली चलचित्र उद्योग धेरै सानो छ। त्यसकारण कम बजेटमा चलचित्रहरू निर्माण गर्नुपर्ने बाध्यता छ। त्यसका बाबजुद पनि १२ गाउँले पहिलो प्रयासमै यसस्तरको ‘एक्सन’, ‘मल्टीमिडिया इफेक्ट’ र कथाको बेजोड मिश्रण गर्न सफल भएको छ।
चलचित्रमा सुधार गर्न सकिने पक्ष
चलचित्र हालको नेपाली परिभेषमा फरक र नयाँपन ल्याउन सफल भए पनि यसमा सुधारका पक्षहरूको आवश्यकता पनि उत्तिकै छ। बुँदागत रुपमा भन्नुपर्दा निम्न क्षेत्रमा चलचित्रले सुधार गर्न सक्छ भन्ने लागेको छ :
-चलचित्रमा विराज भट्ट मुख्य भूमिकामा रहे पनि समीर भट्ट सहित अन्य पात्रहरूको भूमिक अलिक कम हो कि जस्तो लागेको छ।
-चलचित्र मध्यान्तर पश्चात् उत्कृष्ट रहे पनि मध्यान्तरअघि भने अलिक सुधार गर्नुपर्ने पाटोमा पर्दछ। त्यसबखतका डायलग र अभिनय वास्तविक जस्तो लाग्दैन।
-यस किसिमका चलचित्रमा गीत राख्नै पर्छ भन्ने हुँदैन। गीत राख्नै परेमा कथा संगत र दर्शकलाई आकर्षण गर्ने किसिमका भए उचित हुने देखिन्छ।
-एक्सन यस चलचित्रको मुख्य अंश भए पनि एकै किसिमका एक्सनहरू सुधारका पाटाभित्र पर्न जान्छन्।
-कुनै कुनै अंशहरू चाहिनेभन्दा बढी भइदिँदा सो अंश चाँडै सकिदिए हुन्थ्यो भन्ने लाग्ने। जस्तो जंगलको लडाइँ चाहिनेभन्दा बढी भयो कि, प्रमुख खलनायकसँगको भेटका लागि बनाइएको प्लट बढी भयो कि र भावनात्मक भागबाट एक्सनमा चाँडो चाँडो सर्दा फरकफरक भागको दर्शकले मज्जाले स्वाद लिन नमिल्ने अवस्था सिर्जना भएको महसुस भएको छ।
-केही अंश राजनीतिक नेतृत्वहरूसँगको सामीप्य कि नदेखाएको भए हुन्थ्यो कि देखाइसक्दा त्यसलाई कथासँग जोड्न सक्नु पर्थ्यो।
-समीर भट्टको अंशलाई अलिक बढाउँदा उचित हुन्थ्यो कि जस्तो लागेको छ।
आउँदा दिनमा यसै विधामा यो भन्दा राम्रा चलचित्रहरू पनि बन्लान् र यो भन्दा बढी कमाइ पनि गर्लान् तर नेपाली सिनेमा जगतमा भने १२ गाउँले इतिहास बनाउने पक्का छ। एक्सन ड्रामाको क्षेत्रमा १२ गाउँले नयाँ रोडम्याप सेट गरेको छ।
यसैले देखाएको बाटोमा आउने दिनहरुमा एक्सन ड्रामाहरू निर्माण हुनेछन् भन्ने लाग्छ। पछिल्लो चरणमा टिकटक र अन्य सामाजिक सञ्जालमा चलचित्रका गीतहरू भाइरल बनाएर फिल्म चलाउने परिपाटीलाई पनि कथा र अभिनय महत्त्वपूर्ण हुन्छ भन्ने १२ गाउँले देखाएको छ।
यो अन्त्य होइन सुरुवात मात्र हो। नेपाली चलचित्रको क्षेत्रमा समीर भट्टले धेरै सफल चलचित्रहरू दिन बाँकी नै छ। कम बजेटमा निर्माण भएको यस चलचित्र र यसले पाएको सफलताले चलचित्रमा गरिनुपर्ने सुधारका पाटामा पनि निर्देशक र निर्माताहरूको विशेष ध्यान जानेछ भन्ने विश्वास लिएको छु।
Discussion about this post