Nirvik Khabar

चितवनलाई चिनाएको क्यान्सर अस्पताल

चितवन- पूर्व प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरको कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । कोइरालाका कान्छा भाई गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँ चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री लि फङ्गसँगको भेटमा कोइरालाले नेपालमा क्यान्सर अस्पताल स्थापनाका लागि आग्रह गर्नुभएको थियो ।

तत्कालिन समयमा नेपाली कांग्रेस चितवनका सभापति रहनु भएका टेकप्रसाद गुरुङका अनुसार कोइरालाको आग्रहलाई चिनिया प्रधानमन्त्रीले स्वीकार गर्नुभयो र नेपालमा चीनको सहयोगमा एसियाकै नमूना अस्पताल बनाउने अभियान शुरु भयो । विगतलाई सम्झँदै गुरुङले भन्नुभयो “गिरिजाबाबुलाई गणेशमान जीहरुले धुलिखेलमा क्यान्सर अस्पताल स्थापना गर्न सुझाव दिनुभएको रहेछ ।” नेपालमा क्यान्सर अस्पताल स्थापना गर्ने भन्ने सुनेपछि दलबल सहित प्रधानमन्त्री कोइरालालाई भेट्न गुरुङको टोली पुगेको थियो ।

शुरुमा धुलिखेलको कुरा कोइरालाले गरेपछि गुरुङको समूहले चितवनमा गर्नुपर्ने र जग्गा व्यवस्थापन गर्न सकिने भनेपछि कोइराला सकारात्मक हुनु भएको थियो । गुरुङले भन्नुभयो “गिरिजाबाबुलाई टेकप्रसादले पेल्यो अब सकिन्न भन्नुभयो, र यहाँ क्यान्सर अस्पताल आयो ।”
भरतपुरमा बागवानी फार्मको ७५ विगाहा १० कठ्ठा जग्गा रामपुर कृषि क्याम्पसलाई दिईएको थियो । त्यही जग्गा मन्त्रीपरिषद्ले निर्णय उल्ट्याएर क्यान्सर अस्पताललाई दिएको गुरुङ बताउनुहुन्छ ।

यसरी स्थापना भएको क्यान्सर अस्पतालले चितवनका मात्रै होइन, देशभरी र भारत, भुटान, म्यानमारसम्मका बिरामीलाई उपचार सेवा दिंदै आएको छ । गुरुङले भन्नुभयो “यसले चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको छ ।”  वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजयराज न्यौपाने नेपालमै क्यान्सरको उत्कृष्ट उपचारको केन्द्र यो अस्पताल रहेको बताउनुहुन्छ । अस्पतालले उपचार त गरेको छ नै यसले यहाँको आर्थिक क्षेत्रलाई समेत चलायमान बनाएको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो “यहाँबाट दैनिक ३०–४० वटा बस देशका विभिन्न शहरमा पुग्ने गर्दछन् ।” अस्पताल वरपर एक सय ५० हाराहारी होटल रेष्टुरेन्ट चलेका छन् भने ६० हाराहारी औषधि पसल छन् । समग्रमा आर्थिक क्षेत्रलाई चलायमान बनाउने काम पनि अस्पतालले गरेको छ ।  भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष विजय सुवेदी यहाँ क्यान्सर अस्पताल स्थापना हुँदा न्यून बिरामी भरतपुर अस्पताल र मेडिकल कलेजले उपचार दिने गरेको बताउनुहुन्छ । उहाँको भनाईमा त्यतिबेला बिरामीको खासै चाप हुदैनथ्यो । क्यान्सर अस्पताल स्थापना भएसँगै निजी अस्पताल खुलेका, देश र विदेशबाट यहाँ बिरामी उपचार गर्न आउने गरेको उहाँ बताउनुहुन्छ । यो क्यान्सर अस्पतालले स्वदेश र विदेशससम्म चितवनलाई चिनाएको उहाँको भनाई छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल भरतपुरलाई मेडिकल सिटीको रुपमा विकास गर्न क्यान्सर अस्पतालको महत्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ । अस्पतालको सञ्चालक समितिमा रहेर सात वर्ष काम गरेको भन्दै उहाँले यहाँ नेपाल र छिमेकी देशबाट बिरामी आउने गरेको बताउनुभयो । यहाँका अन्य अस्पतालमा आएका बिरामीलाई समेत क्यान्सर आशंका भएमा उपचार गर्न पाएको उहाँको भनाई छ । अस्पतालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भरतपुरलाई चिनाएको उहाँ बताउनुहुन्छ । संघीय अस्पताल भए पनि महानगरपालिकाले समेत सहयोग गर्दै आएको भन्दै उहाँले आगामी दिनमा अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न सके अझै यसको गरिमा बढ्ने बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताउनुहुन्छ । अस्पतालमा आर्थिक वर्ष २०८०÷०८१ मा १ लाख ८८ हजार ५१४ जना बिरामीले बहिरंग विभागबाट सेवा लिएका छन् । यो संख्या आर्थिक वर्ष २०७९÷०८० मा १ लाख ६६ हजार २ सय रहेको थियो । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा १ लाख ७४ हजार ९३५ रहेको थियो भने आर्थिक वर्ष २०७७÷०७८ मा १ लाख ३१ हजार ३०५ रहेको थियो ।

उहाँका अनुसार सोही अवधिमा अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये नयाँ क्यान्सरका बिरामीको समेत संख्या बढ्दो रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा ६ हजार ७९५ जना नयाँ क्यान्सरका बिरामी पहिचान भएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷०८० मा यो संख्या ६ हजार ४८० रहेको थियो । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा यो संख्या ६ हजार ५३५ रहेको थियो भने आर्थिक वर्ष २०७७÷०७८ मा यो संख्या २ हजार ९७९ रहेको थियो ।

अस्पताल वि.सं. २०५७ सालमा आजकै दिनबाट सेवा शुरु भएको हो । शुरुमा एक सय शैयाबाट शुरु भएको अस्पतालमा अहिले पाँच सय शैया छन् । आठ सय ५० जना चिकित्सक, कर्मचारी कार्यरत छन् । अस्पतालमा बोनम्यारो प्रत्यारोपण बाहेकका सबै खालका क्यान्सरको उपचार हुँदै आएको छ । बोनम्यारो प्रत्यारोपण युनिट पनि चिनिया सरकारको सहयोगमा बन्ने क्रममा रहेको छ । साईक्लोटोन सहितको पेट स्क्यान ल्याउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस