दुई दिनदेखि लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी देशभर आठ जनाले ज्यान गुमाएका छन् भने ६ सम्पर्कविहीन भएका छन्।
विपद्जन्य घटनामा परेर सात जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ। देशभर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए।
विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको ज्यान गएको हो। त्यस्तै, दाङमा दुई, तनहुँमा तीन र दोलखामा एक गरी सम्पर्कविहीन रहेको कार्कीले बताए।
त्यस्तै, तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सात जना घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ भने हराएका व्यक्तिको खोजीमा स्थानीय बासिन्दासँग सुरक्षाकर्मी खटिएका छन्। अत्यधिक वर्षाका कारण शनिबार देशभरकै जनजीवन प्रभावित भएको थियो। आइतबार पनि बिहानैदेखि पानी परिरहेको छ।
कोशी नारायणी लगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएका छन्। जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।
Discussion about this post