Nirvik Khabar

माडीको सोमेश्वरगढीमा बढ्दै पर्यटक

received_2129529764081875

भरतपुर- चितवनको माडीस्थित सोमेश्वरगढी नेपाल र भारतको सिमाना (दशगजा) मा रहेको एतिहासिक धार्मिक पर्यटकीययस्थल हो । माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रुपमा मानिन्छ । सोमेश्वरगढीलाई सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यभित्र राखेको छ । यहाँ आउनका लागि सडक सञ्जालको विकास भएसँगै पर्यटकको सङ्ख्यामा पनि वृद्धी हुँदै गएको सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलले बताउनुभयो । “यहाँ सोमेश्वर कालिकाको मन्दिर छ”, उहाँले भन्नुभयो, “मन्दिर दर्शनका लागि नेपाल र भारतका नागरिक यहाँ पुग्ने गर्छन् ।”

पछिल्लो समय सडक सञ्जाल बिस्तार भएसँगै यातायातको सुविधाका कारण यहाँ घुम्न र मन्दिर दर्शनका लागि आउने पर्यटकको सङ्ख्या बढेको पोखरेलले जानकारी दिनुभयो । उहाँले नेपालतर्फबाट जाने सडक निर्माण भइरहेको भन्दै गढी दशगजा क्षेत्रमा पर्ने भएकाले भारतले अन्य संरचना निर्माण गर्न नदिएको बताउनुभयो ।

“दुई देशको सहमति बिना यहाँ केही काम पनि गर्न सकिदैन । यसका लागि केन्द्रीय तहबाटै पहल गर्नुपर्छ”, पोखरेलले भन्नुभयो, “दुई देशका नागरिकको आस्था रहेको सोमेश्वर कालिका मन्दिरसमेत जीर्ण भएको छ । नयाँ मन्दिर निर्माणका लागि पहल गरिरहेका छौँ ।” दशगजा क्षेत्र भएकाले यहाँ सोचे अनुसार विकास गर्न नसकिएको उहाँको भनाइ थियो ।
माडी नगरपालिका–५ मा पर्ने मन्दिर र गढी क्षेत्र वसन्तपुर बजारबाट १२ किलोमिटरको दूरीमा पर्दछ । नगरपालिकाले केन्द्र र प्रदेश सरकारसँगको सहयोग र सहकार्यमा हाल कालिका मन्दिर पुग्नुभन्दा सात सय ५० मिटर तलसम्म बाटो पु¥याइएको माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले बताउनुभयो । साथै मन्दिरसम्म मानिसको आकर्षण बढाउन मूर्ति कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काउने प्रयास गरिएको उहाँको भनाइ थियो ।

“अझै पनि आगन्तुकलाई राम्रो बसोबासको प्रबन्ध मिलाउन सकेका छैनौँ”, उपप्रमुख महतोले भन्नुभयो, “यहाँ आउने पर्यटकले राति बास बस्न चाहेको खण्डमा खानपान र बसोबासको व्यवस्था मिलाउन सके अझै पर्यटनको सङ्ख्यामा वृद्धि हुने थियो ।” उहाँले गढी क्षेत्र दशगजामा परेकाले ल्याइएका योजनालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन नसकिएको बताउनुभयो । महतोले यसवर्ष पनि गढी क्षेत्रसम्म पुग्ने सडक निर्माणका लागि प्रदेश सरकारबाट रू ९० लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

“चितवनको भूमिपुत्र भनेर चिनिने आदिवासी जनजाति थारु समुदायको मुख्य आस्थाको केन्द्र भनेर सोमेश्वर कालिका मन्दिरलाई लिने गरिन्छ । हिउँद लागेपछि खेतीपाती गर्ने बेलासम्म पानी नपरेको खण्डमा यही मन्दिरमा पूजा गरेर पानी मागेपछि पानी पथ्र्यो भन्ने जनविश्वास छ”, मन्दिरका पूजारी शोभाखर चापागाईंले भन्नुभयो, “अहिले आम नेपालीको धार्मिक आस्थाको साँझा थलो बनेको छ । यहाँ नेपालीका साथै भारतीय नागरिक बढी आउने गरेका छन् ।”

चापागाईंका अनुसार सोमेश्वर कालिका मन्दिर महादेव र कालीको बासस्थान रहेको शक्तिपीठ हो । यहाँ विसं २०१७ देखि माडीका आदिवासी थारु समुदायले पूजापाठ गर्दै आएको इतिहास रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यहाँ रामनवमीमा ठूलो मेला लाग्दछ ।भारतको महाराष्ट्रसम्मका भक्तजन यहाँ दर्शनका लागि आउने गरेका चापागाईंले जानकारी दिनुभयो । “भारतबाट खाली खुट्टा चार पाँच घण्टा हिँडेर भक्तजन यहाँ आउनुहुन्छ”, उहाँले भन्नुभयो, “यहाँ ठूलो शक्तिपीठ छ भनेर भारतमा प्रचलित छ ।” उहाँका अनुसार मन्दिर दर्शनका लागि शुक्रबार र शनिबार डेढ÷दुई सय भक्तजन आउने गरेका छन ।

अन्य समयमा दैनिक ४० देखि ५० जनाले मन्दिर तथा गढी क्षेत्रको अवलोकन गर्ने गरेका चापागाईंले बताउनुभयो । आगन्तुकले खानपानसहित बसोबासको व्यवस्था राम्रो भएमा अझ यसको आकर्षण बढ्ने उहाँको भनाइ थियो । गढी क्षेत्रलाई तारबार गर्नुपर्ने भन्दै घुम्न र मन्दिर दर्शन गर्न आउनेका लागि बस्ने ठाउँको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भरतपुरबाट सोमेश्वरगढी घुम्न पुग्नुभएका सुलभ सिग्देलले ऐतिहासिक गढीमा पुग्दा खुसी लागेको बताउनुभयो । उहाँले ऐतिहासिक क्षेत्र भएकाले राज्यले विशेष ध्यान दिएर संरक्षण र प्रवर्द्धनको काम गर्नुपर्ने बताउनुभयो ।

मन्दिरका संस्थापक नीलकण्ठ सापकोटाले गढीमा विसं २०५० फागुन १२ गते मन्दिर स्थापना भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विसं २०२६ मा गाई चराउँदै आउँदा यहाँ रुखमा झुण्डाएको घण्टी र बाघको मूर्ति फेला परेको थियो । त्यसपछि मन्दिर बनाउनुपर्छ भनेर लागेका हौँ ।” उहाँका अनुसार पाँच पाण्डव यहाँ आएर वनबास बसेको किंवदन्ती छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस