Nirvik Khabar

ट्राफिक प्रहरीले भन्यो- मंसीर ७ गते अत्यावश्यक काममा मात्रै निजी सवारी साधन लिनू

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक जाम हुने भएकाले मंसीर ७ गते अत्यावश्यक कामका लागि मात्रै निजी सवारी साधनको प्रयोग गर्न आग्रह गरेको छ।

युवा संघ नेपाल र अभियन्ता दुर्गा प्रसाईंले मंसीर ७ गते काठमाडौंमा प्रदर्शन गर्न लागेका छन्। युवा संघले तीनकुनेमा र प्रसाईंले बल्खुमा प्रदर्शनको कार्यक्रम तय गरेका छन्।

प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन कठिन हुने ट्राफिक प्रहरीले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सूचना प्रकाशित गरी सकभर सवारी साधन नलिन आग्रह गरेको हो।

ट्राफिक प्रहरीले भनेको छ, ‘मंसीर ७ गते विभिन्न समूहद्वारा र्‍याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भन्ने बुझिन आएकाले काठमाडौंभरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ।’

यससँगै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जुनसुकै वेला जुनसुकै ठाउमा पनि सवारी साधन डाइभर्सन हुन सक्ने जनाएको छ। ट्राफिक प्रहरीले भनेको छ, ‘तपाईंको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौं।’

यसअघि युवा संघ र प्रसाईंले माइतीघर मण्डलमा प्रदर्शन गर्ने तय गरेका थिए। दुवै पक्षले प्रदर्शन गर्दा शान्ति सुरक्षामा असर पर्ने जनाउँदै काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो।

त्यस्तै, राष्ट्रपति भवन रहेको शीतलनिवास र प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ। ललितपुर जिल्ला प्रशासनले कार्यालयले पुल्चोक क्षेत्रमा ६ महीनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस