चितवन- पित्तथैलीको पत्थरीको अत्याधिक दुखाईको पीडा भोगिरहनु भएका ईच्छाकामना गाउँपालिकाका वडा नं. ३ का प्रदीप पोखरेलको सरकारी अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो प¥यो । स्वास्थ्य बीमा मार्फत् शल्यक्रिया गराउनु पर्ने उहाँको आर्थिक बाध्यता थियो ।
उहाँलाई पीडा सहन सक्ने क्षमता घट्दै गएको थियो । आर्थिक अभाव र पीडामा छट्पटाईरहनु भएका पोखरेलको बाध्यता बुझेर चितवन मेडिकल कलेज शिक्षण अस्पतालले उहाँको निःशुल्क उपचार गरेको छ । गत असार २९ गते यहाँको सरकारी भरतपुर अस्पताल परीक्षणपछि उहाँको शल्यक्रियाको पालो आगामी चैत १८ गतेका लागि तोकियो । यससँगै आर्थिक अभावका कारण उपचार पाउन नसक्दा पीडा भोग्नु परेको गुनासो उहाँले स्थानीय पत्रकार दीपेन्द्र अधिकारीसँग पोख्नुभयो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव समेत रहनु भएका अधिकारीले यो पीडा चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटालाई सुनाउनुभयो । अधिकारीले भन्नुभयो “मेरो प्रस्ताव सुन्नासाथ देवकोटाले सहर्ष स्वीकार गरेर निःशुल्क शल्यक्रिया गराउनुभयो ।”
गत वर्ष नै उहाँमा पित्तथैलीको पत्थरी समस्या देखिएको थियो । त्यतिखेर बिमा थिएन । शल्यक्रिया गर्न पैसा आवश्यक हुने भएपछि उहाँ बिमा गरेर मात्र शल्यक्रिया गर्ने भनी बस्नुभयो । बिमा गरेपछि पनि उहाँले सहजै सुविधा लिन पाउनु भएन ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले विपन्न नागरिकको सेवा गर्नु आफूहरुको दायित्व भएको भन्दै बिरामी पोखरेलले उपचार खर्च सबै चितवन मेडिकल कलेजले नै व्यहोरेको बताउनुभयो । उहाँका अनुसार पोखरेल आज निको भएर घर फर्किदै हुनुहुन्छ । अस्पतालले यस अघि पनि विपन्न नागरिकको निःशुल्क उपचार गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
कात्तिक १३ गते चितवन मेडिकल कलेजमा उहाँको शल्यक्रिया भएको हो । शल्यक्रियापछि प्रतिक्रिया दिँदै पोखरेलले भन्नुभयो “चैत कुरेको भए मेरो ज्यान खतरामा हुनेथियो ।”दैनिक ३ हजार हाराहारी बहिरंग सेवामा बिरामी आउने भरतपुर अस्पतालमा दुईतिहाइजति बिमाका बिरामी हुन्छन् । शल्यक्रियाका लागि आउने बिरामीको पालो नौ महिनासम्म पछाडि पर्ने गरेको छ ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेल दुरविनबाट पित्तथैलीको शल्यक्रियाका लागि नौ महिनासम्म पालो कुर्नु पर्ने बाध्यता रहेको स्वीकार्नुहुन्छ । उहाँको भनाईमा अस्पतालमा सरकारी दरबन्दीमा सर्जन तीन जना दरबन्दी भएपनि छात्रवृत्ति करारका एक जना चिकित्सक मात्रै छन् । विकास समितिका नौ जना चिकित्सक छन् ।बिरामीको बढ्दो चापका कारण शल्यक्रिया गर्ने बिरामीहरुले लामो समय पालो कुर्नु परेको उहाँले बताउनुभयो ।
Discussion about this post